त्रिपुराका स्कूल र कलेजमा फैलियो एचआइभी, ४७ विद्यार्थीको मृत्यु, ८२८ जना पीडित


काठमाडाैं- भारतकाे त्रिपुरा राज्यका  ८२८ जना विद्यार्थीमा एचआइभी संक्रमण देखिएको छ । जसमध्ये ४७ विद्यार्थीको मृत्यु भएको बताइएकाे छ ।  त्रिपुरा स्टेट एड्स कन्ट्रोल सोसाइटी(टीएसएसीएस)ले राज्यका २२० स्कूल र २४  कलेज तथा विश्वविद्यालयमा गरेकाे अनुसन्धानबाट याे तथ्यांक बाहिर आएको हाे ।

एचआइभी पीडितमध्ये धेरै विद्यार्थी देशका विभिन्न राज्यका विश्वविद्यालय तथा ठूला कलेजमा भर्ना भएर अध्ययन गरिरहेका छन् । पीडितमध्ये अधिकांश सिरिन्जबाट लिइने औषधका प्रयोगकर्ता रहेको समेत पाइएको छ ।

त्यस्तो अवस्थामा एचआइभी सङ्क्रमित विद्यार्थीले पहिले प्रयोग गरेको सुई अर्को विद्यार्थीले लगाएमा रोग फैलिन सक्ने सम्भावना हुन्छ । यति मात्र होइन, पछिल्लो तथ्याङ्कले झण्डै हरेक दिन पाँचदेखि सातवटा नयाँ एचआइभी सङ्क्रमित भेटिने गरेको देखाएको छ ।

त्रिपुरा पत्रकार संघ, वेब मिडिया फोरम र टीएसएसीएसद्वारा आयोजित एक मिडिया कार्यशालामा टीएसएसीएसका सह-निर्देशक सुभ्रजित भट्टाचार्यले त्रिपुरामा एचआईभी अवस्थाको विस्तृत विवरण प्रस्तुत गरेका थिए । “हामीले राज्य भरिका १६४ वटा स्वास्थ्य संस्थाहरूको तथ्यांक हेर्यौं । हामीले एआरटी (एन्टिरेट्रो भाइरल थेरापी) केन्द्रहरूमा ८, ७२९ व्यक्तिहरूकाे तथ्यांक दर्ता गरेका छौं । जसमध्ये एचआइभीबाट पीडितकाे  संख्या ५,६७४ रहेकाे छ । त्यसमध्ये  ४ हजार ५७० पुरुष छन् भने १ हजार १०३ महिला छन् । ती बिरामीहरूमध्ये एक मात्र ट्रान्सजेन्डर हुन्’ उनले भने ।

उनी थप्छन्, ‘धेरैजसो अवस्थामा धनाढ्य परिवारका बालबालिका एचआइभी संक्रमित भेटिएका छन् । यस्तै बुवाआमा  सरकारी जागिरमा छन् । उनीहरूले आफ्ना छोराछोरी लागुऔषधको लतमा फसेका छन् भन्ने पनि थाहा पाएका छैनन् ।’

 

प्रतिक्रिया