झन् शक्तिशाली बन्यो अख्तियार : अनुसन्धानका लागि व्यक्तिको फोन कल सुन्न र रेकर्ड गर्न पाउने


काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धानका क्रममा अब ब्यक्तिको फोनकल सुन्न र रेकर्ड गर्न पाउने भएको छ ।

आयोगको तेस्रो संशोधन नियमावली २०८१ राजपत्रमा प्रकाशित भएसँगै ब्यक्तिको फोनकल सुन्न र रेकर्ड गर्न पाउने भएको हो ।

राजपत्रमा प्रकाशित नियमावलीमा भनिएको छ,‘टेलिफोन वा सञ्चार माध्यमको विवरण प्राप्त गर्ने (इन्टरसेप्सन) ।’

जसको अर्थ मोबाइल नम्बर, टेलिफोन नम्बरमा सेवा प्रदायक संस्थामार्फत पहुँच राखी सोसँग सम्बन्धित सामग्री वा विवरणको सञ्चार अभिलेख राख्ने हुन्छ ।

यो कानुनअनुसार व्यक्तिगत मोबाइल तथा टेलिफोन ट्यापिङ अर्थात् निगरानी सम्म गर्न सकिनेछ ।

यसका लागि अख्तियारले दुरसञ्चार प्रदायक कम्पनीसँग समन्वय वा आफैपनि कल सुन्ने,रेकर्ड गर्ने र ट्रयाकिङ गर्नसक्ने अख्तियारका अधिकारीहरु बताउँछन् ।

यो व्यवस्था सम्पत्ति शुद्धिकरणको अनुसन्धानका क्रममा लागु हुनेछ ।

शंशोधित नियमावलीमा भनिएको छ, ‘अनुसन्धान अधिकृतले आवश्यकता अनुसार सम्पत्ति शुद्धिकरण (मनि लाउण्डरिङ) निवारण ऐन,२०६४ को दफा ग.मा लेखिए बमोजिम देहायका विशेष अनुसन्धान विधि अवलम्बन गर्न सक्नेछ ।’

जसअनुसार नियन्त्रित अनुसन्धान प्रविधि,सुराकी परिचालन,गुप्त अनुसन्धान कारवाही (अण्डर अभर अपरेशन), टेलिफोन वा सञ्चार माध्यमको विवरण प्राप्त गर्ने (इन्टरसेप्सन) गर्न सकिने व्यवस्था छ ।

यसबाहेक थप प्रमाण तथा सुचना हासिल गर्ने उदेश्यले आरोपीलाई तत्काल पक्राउ नगर्ने पनि उल्लेख छ ।

नियमावलीमै कम्प्युटर वा अन्य विद्युतीय साधनको संरचना वा प्रणालीमा पहुँच पुर्याउन सकिने पनि उल्लेख छ ।

सुराकीमार्फत सुचना प्राप्त गर्नका लागि विशेष अनुसन्धानका लागि अख्तियारले छुट्टै इकाई समेत गर्न गर्न सकिने नियमावलीमा व्यवस्था गरिएको छ ।

प्रतिक्रिया