

दिल्लीविरुद्ध हैदराबादको शानदार जित, आज चेन्नाई र आरसिबी भिड्दै

युएई – युएईमा जारी १३औं संस्करणको आईपीएल टी–ट्वान्टी क्रिकेटमा सनराइजर्स हैदराबादले दिल्ली क्यापिटल्सविरूद्ध शानदार जित हात पारेको छ । मंगलबार राती सम्पन्न खेलमा हैदराबादले दिल्लीमाथि ८८ रनको फराकिलो जित हात पारेको हो ।
दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा विस्फोटक ब्याटिङ गरेको हैदराबादले २० ओभरमा २ सय १९ रन बनाउँदै दिल्लीलाई २२० रनको लक्ष्य दिएको थियो । २२० रनको लक्ष्यसहित मैदानमा उत्रिएको दिल्लीले १९ ओभरमा अलआउट हुँदै १ सय ३१ रन मात्र बनाउन सक्यो।
दिल्लीका लागि ऋषब पन्तले सर्वाधिक ३६ र अजिन्का रहानेले २६ रन बनाए । यस्तै टुसार देशपाण्डेले अविजित २० रन जोड्दा शिम्रन हिटमायरले १६ रन बनाए ।
कप्तान श्रेयस एयरले ७ रन बनाए भने शिखर धवन शुन्य रनमा पेभेलियन फर्किए ।
दिल्लीलाई सस्तैमा समेट्न हैदराबादका राशिद खानले ४ ओभरमा ७ रन खर्चिएर ३ विकेट लिए । यस्तै सन्दीप शर्मा र टी नटराजनले २/२ विकेट लिए ।
यस अघि टस हारेर पहिले ब्याटिङ गरेको हैदराबादले २० ओभरमा २ विकेट गुमाएर २ सय १९ रन बनाएको थियो ।
हैदराबादका लागि ओपनरद्वय रिद्दिमान र वार्नरले पहिलो विकेटका लागि १ सय ७ रनको साझेदारी गरेका थिए ।
पहिलो विकेटको रुपमा आउट भएका वार्नरले ३४ बलमा ८ चौका र २ छक्का प्रहार गर्दै ६६ रन बनाए ।
रिद्दिमानले ४५ बलमा १२ चौका र २ छक्कासहित ८७ रन बनाए । यस्तै मनिस पाण्डेले अविजित रहदै ४४ रन जोड्दा केन विलियम्सनले अविजित ११ रन बनाए ।
जितसँगै हैदराबादले १२ खेलमा १० अंक जोड्दै छैठौँ स्थानमा उक्लिएको छ ।
हैदराबादसँग पराजित भएपछि दिल्ली १२ खेलमा ७ जितसहित १४ अंकका साथ तेस्रो स्थानमा छ ।
आज महेन्द्रसिंह धोनी आबद्ध चेन्नाई सुपर किंग्स र विराट कोहली आबद्ध रोयल च्यालेन्जर्स बैंग्लोरबीच खेल हुने भएको छ । अहिलेसम्मका ११ खेलमा ७ मा जित हात पार्दै आरसिबी अंक तालिकाको दोस्रो स्थानमा छ भने १२ खेलमा ८ वटा हार ब्यहोरेको चेन्नाई अंकतालिकाको अन्तिम स्थानमा रहेको छ ।

