खुट्टाले लेखेर एसइई उत्तीर्ण, अधिकृत बन्ने इच्छा


जानकी – खुट्टाले लेखेर एसईई दिएका बाँकेको राप्तीसोनारी गाउँपालिका–२ मदुवाका उमेश खत्रीले २.९२ जीपीए ल्याएर उतीर्ण भए ।

मदुईस्थित लक्ष्मी माध्यमिक विद्यालयका विद्यार्थी उनले खुट्टाले लेखेर परीक्षा दिन कठिन भएको बताए । ‘अरूलाई भन्दा मलाई आधा घण्टा बढी समय दिइएको थियो तर मैले खुट्टाले लेख्ने भएकाले सजिलो पक्कै थिएन’, उनले भने, ‘सोचे जतिको त भएन तर पनि यो उपलब्धिमा खुसी छु ।’

एसइई दिएकै विद्यालयबाट बाली विज्ञानमा उच्च शिक्षा हासिल गर्ने उनको योजना छ । ‘मैले कक्षा ९ देखि बाली विज्ञान लिएर पढेको हुनाले उच्च शिक्षा पनि बाली विज्ञानमा नै गर्ने सोचेको छु’, खत्रीले भने । पढाइ सकेपछि भविष्यमा लोकसेवा आयोगको परीक्षा दिएर अधिकृत बन्ने इच्छा उनको छ ।

शारीरिक रुपले अशक्त १८ वर्षीय उमेश खुट्टाले लेखेर एसइई परीक्षामा उत्तीर्ण हुने यस क्षेत्रकै पहिलो विद्यार्थी हुन् । उमेश जन्मजात दुवै हात र खुट्टा नचल्ने भएर जन्मिएका थिए ।

पटक पटकको उपचारपछि हातको नशामा कुनै सुधार नआएपछि उनको खुट्टाको भने तीनपटक शल्यक्रिया गरिएको थियो । त्यसपछि अलिअलि खुट्टा चल्न सुरु गरेको आमा गोमा खत्रीले बताइन् ।

खुट्टा चल्न थालेपछि उमेशले खुट्टाकै भरमा आफूले सक्ने काम गर्न थालेको आमा गोमा बताउँछिन् । खुट्टा चल्न सुरु गरेपछि उनलाई हिँड्न कसैको सहारा चाहिएन तर धेरै समय उभिन सक्दैनन् । खुट्टाले काम गर्न सक्ने भएपछि गोमाले छोरालाई विद्यालय भर्ना गरेका थिए ।

 

प्रतिक्रिया