बिहे गर्छु भन्दै यौन सम्बन्ध राखेर धोका दिए १० वर्ष जेल !


नयाँ दिल्ली-  भारतमा  तीन आपराधिक कानुन कार्यान्वयनमा ल्याइएको छ । आज( सोमबार) देखि कार्यान्वयनमा ल्याइएको ती कानुनमा भारतीय न्याय संहिता, भारतीय नागरिक संहिता र भारतीय साक्ष्य संहिता छन् ।

यी कानुनमा नयाँ व्यवस्था समावेश छ । विवाहको बाचा गरेर यौन सम्बन्ध राखेपछि धोका दिएमा १० वर्षको जेल सजायजस्ता व्यवस्था यसमा गरिएको छ । यूएपीएजस्तै आतंकविरोधी कानुनलाई पनि यसमा समावेश गरिएको जनाइएको छ ।

यस्तै अब सुनुवाइको ४५ दिनभित्र फैसला, उजुरी गरेको तीन दिनमा एफआईआर दर्ता गरिनुपर्ने, पाकेटमारलाई तीन वर्षसम्म जेल सजाय हुन सक्नेलगायत व्यवस्था गरिएको जनाइएको छ ।

यस्तै अब मृत्युदण्डको सजाय पाएका दोषीहरूले मात्र दया याचिका दायर गर्न सक्छन् । यसअघि गैरसरकारी संस्था वा नागरिक समाज समूहहरूले पनि दोषीहरूको तर्फबाट दयाको निवेदन दायर गर्ने गर्दथे ।

यसअघि १५ दिन मात्रै प्रहरी हिरासतमा राख्न सकिने व्यवस्था थियो । तर अब यो ६० वा ९० दिनसम्म दिन सकिन्छ । मुद्दाको सुनुवाइ सुरु हुनुअघि नै यति लामो प्रहरी हिरासतमा परेकोमा धेरै कानुनविद्ले चिन्ता व्यक्त गरेका छन् ।

यी कानुन गत वर्ष संसद्का दुवै सदनबाट ध्वतिमतका साथ पारित गरिएको थियो । त्यति बेला विधेयकमाथि दुवै सदनमा करिब पाँच घण्टा बहस भएको थियो । त्यसक्रममा विपक्षका १४० भन्दा बढी सांसदलाई निलम्बन गरिएको थियो ।

प्रतिक्रिया