रास्वपा महामन्त्रीले स्पष्टीकरणको जवाफ केन्द्रीय समिति बैठकमा दिने


काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री डा. मुकुल ढकाललाई सात दिने स्पष्टीकरण सोधेपछि पार्टीभित्र उनीमाथि सम्भावित कारबाहीको चर्चा व्यापक भएको छ ।

शुक्रबार रास्वपाको अनुशासन आयोगले उनलाई ७ दिनभित्र जवाफ दिन भन्दै स्पष्टीकरण पठाएको थियो । आफ्नो समीक्षा प्रतिवेदन पार्टीमा बुझाउनुभन्दा अगाडि सञ्चारमाध्यममा लिक गरेको आरोपमा उनलाई स्पष्टीकरण सोधिएको हो । सभापति रवि लामिछानेकै निर्देशनमा आयोगले स्पष्टीकरण सोधेको बुझिएको छ । आयोगका अध्यक्ष यज्ञमणि न्यौपानेले स्पष्टीकरण पत्रमा हस्ताक्षर गरेका छन् ।

महामन्त्री डा. ढकालले अहिलेसम्म स्पष्टीकरण पत्र नपढेको बताए । स्पष्टीकरण पत्र आज पढेर बुधबार बस्ने केन्द्रीय समिति बैठकमा आफ्नो कुरा राख्ने उनको भनाइ छ । रास्वपाले महामन्त्रीको प्रतिवेदनमाथि छलफल गर्न भनेर बुधबार केन्द्रीय समितिको बैठक बोलाएको छ । सो बैठकमा महामन्त्री ढकालमाथि ‘कारबाही’ को निर्णय हुन सक्ने आंकलनहरु पनि भइरहेका छन् । उनलाई पदबाट बर्खास्त गर्नेदेखि निलम्बनमा राख्नेसम्मका विकल्पहरूबारे चर्चा भइरहे पनि मूर्तरूपमा केही आएको छैन । रास्वपामा महामन्त्री नियुक्त गर्ने र हटाउने एकाधिकार विधानले सभापतिलाई दिएको छ ।

प्रतिक्रिया