नक्कली भुटानी शरणार्थी प्रकरणः पूर्वगृहमन्त्री बादलका छोरा प्रतीक पक्राउ


काठमाडौं — पूर्वगृहमन्त्री तथा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलका छोरा प्रतीक थापा पक्राउ परेका छन् ।

करिब डेढवर्षदेखि फरार रहेका थापा राजधानीको बौद्धबाट पक्राउ परेका हुन् ।

थापालाई प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न भएको अभियोगमा पक्राउ गरेको हो ।

प्रहरीको खोजी सूचीमा रहेका उनी फरार रहँदै आएका थिए ।

नक्कली भुटानी शरणार्थी बनाएर नेपालीलाई अमेरिका पठाएको आरोपमा गत वर्ष सरकारी वकिलको कार्यालय काठमाडौंले थापालाई फरार सूचीमै राखेर अदालतमा मुद्दा दायर गरेको थियो । उनले बाबु रामबहादुर थापा गृहमन्त्री भएका बखत विचौलिया र गृह मन्त्रालयकै कर्मचारीहरुसँग मिलेर शरणार्थी प्रकरणमा असुली धन्दा चलाएको अनुसन्धानबाट खुलेको थियो ।

प्रतीक २०७९ चैतमा शरणार्थी प्रकरणका केही आरोपित पक्राउ परेपछि फरार थिए ।

प्रतीकले २०८० वैशाख २१ मा प्रेस विज्ञप्ति जारी गरी आफू घटनामा संलग्न नरहेको भन्दै अनुसन्धानलाई सघाउने बताएका थिए । तर प्रहरी अनुसन्धानकै क्रममा उनी फरार थिए । त्यसपछि प्रहरीले ०८० वैशाख ३१ गते उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।

प्रतिक्रिया