मर्मत कम्पनीले दिएको समय सकिन लागेकाले हतारमा वाइडबडीलाई इटाली पठाएका हौं : नेवानि


काठमाडाैं- अनुमतिबिना वाइडबडी जहाज मर्मतका लागि इटाली पठाएको भन्दै नेपाल नागरिक उड्डयन प्रधिकरण(क्यान)ले वायु सेवा निगममाथि कारबाही गरिसकेको छ ।

अनुमतिबिना जहाज लगेर गम्भीर गल्ती गरेको भन्दै क्यानले हिजो(बुधबार) नेवानिका कार्यकारी अध्यक्ष युवराज अधिकारी, जहाज उडाएर लग्ने क्याप्टेनहरू महेश्वरमान डंडोल र रमन घिमिरे, अपरेशन डाइरेक्टर क्याप्टेन दीपु ज्वार्चन र एयर वर्दिनेस म्यानेजर ज्ञानबहादुर कुँवरलाई अर्को निर्णय नभएसम्म काम गर्नबाट रोक लगाएको थियो ।

साेही विषयमा आफ्नो धारणा राख्दै नेवानिले विज्ञप्ति जारी गरेको छ । मर्मत कम्पनीले दिएको समय तालिका व्यतित भई फेरि कहिले तालिका पाउने भन्ने निश्चित नहुने विषम परिस्थिति सिर्जना हुने भएकाले युरोपेली युनियन (ईयू) को नियमानुसार ‘फेरी फ्लाइट फर मेन्टिनेन्स ओन्ली’ भनेर प्राधिकरणबाट मर्मत कम्पनीले प्रमाणीकरण प्राप्त भएपछि मर्मत सुरु गर्ने गरी जहाज इटाली पठाइएको नेवानिको भनाइ छ । प्रवक्ता रमेश पौडेलले  विज्ञप्ति जारी गर्दै प्राधिकरणको कारबाहीप्रति दुःख व्यक्त गर्दै नियम अनुसार नै निगमले नियमित मर्मत तथा चेकजाँचका लागि जहाज इटाली पठाइएको बताएका छन् ।

‘क्यानले ११ जुन २०२४ मा थप कागजात माग गरेकोमा २२ जुन, २०२४ मा क्यानबाट स्वीकृति नआएपछि इटली स्थिति एमआरओले दिएको मेन्टेनेन्स स्लटको समय सकिनै लागेको र अर्को स्लटको कुनै निश्चित नभएकाले युरोपेली युनियन (ईयू) को नियमानुसार ‘फेरी फ्लाइट फर मेन्टेनेन्स ओन्ली’ भनेर क्यानबाट एमआरओ भ्यालिडेशन प्राप्त भएपछि जहाज पठाइएको हो’ विज्ञप्तिमा  भनिएको छ ।

दुईवटा वाइबडीमध्ये कल साइन नाइनएन एएलवाई भएको जहाज यात्रुसहित आइतबार राति दुबई पुगेको थियो । त्यहाँबाट अधिकारीकै जोडबलमा उक्त जहाजलाई त्यतैबाट इटाली पठाइएको थियो ।

निगमले जहाज सी–चेकका लागि ६ महिना अगाडि नै एयरक्राफ्ट मेन्टिनेन्स अर्गनाइजेसन(एएमओ) छनोट गरिसक्नुपर्ने प्रावधान छ । तर, जहाजको विस्तृत परीक्षण मानिने सी–चेकका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण(क्यान)सँग अनुमति नलिएरै नेपाल एयरलाइन्सले अन्तिम समयमा इटालियन कम्पनी एटिटेक एसपीएलाई जिम्मा दिएको थियो ।

नेवानिले सी–चेकका लागि आव्हान गरेको टेण्डरमा चीनको ग्राण्ड चाइना एभिएसन र इटलीको एटिटेकले आवेदन दिएका थिए । ग्राण्ड चाइना एभिएसनले २० दिनमा र एटिटेकले ३० दिनमा जहाज सी–चेक गर्ने उल्लेख गरेका थिए । एटिटेकले ७ लाख ४० हजार र ग्राण्ड चाइना एभिएसनले ७ लाख ९९ हजार अमेरिकी डलर प्रस्ताव गरेका थिए ।

NACNAC1

प्रतिक्रिया