निर्मल पुर्जा दोषी ठहर, कारबाही गर्न पर्यटन विभागको सिफारिस


काठमाडाैं- पर्यटन विभागले आरोही निर्मल पुर्जालाई कारबाही गर्न सिफारिस गरेको छ । सगरमाथा आरोहणको क्रममा शेर्पाहरूले डोरी काटेको भ्रमपूर्ण सन्देश प्रवाह गरेको विषयमा विभागले उनीमाथि छानबिन थालेको थियो । विभागले उनलाई उक्त प्रकरणमा दोषी ठहर गर्दै कारबाहीका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई सिफारिस गरेको हो ।

स्रोतका अनुसार उनलाई पर्यटन ऐन ३०३५ को दफा ३८(१) अनुसार कारबाही सिफारिस गरिएको छ । उक्त दफाअनुसार कारबाही भए पुर्जालाई पाँच वर्षसम्म नेपाल प्रवेश तथा १० वर्षसम्म नेपालमा पर्वतारोहण गर्न नपाउने गरी सरकारले प्रतिबन्ध लगाउन सक्ने व्यवस्था छ । अब मन्त्रिपरिषदले पुर्जालाई कारबाही गर्ने/नगर्ने विषयमा निर्णय लिनेछ ।

पुर्जामाथि यौन दुर्व्यवहारको गम्भीर आरोप पनि लागिसकेको छ । पुर्जामाथि पूर्वमिस फिनल्यान्ड लोट्टा हिन्ट्साले यौन दुर्व्यवहारकाे आराेप लगाएकी थिइन् ।  काठमाडौंको एक होटलमा व्यापारिक छलफलका क्रममा पुर्जाले आफूलाई किस गरेको, होटलको कोठासम्म तानेर लगेको र कपडा खोलेको लोट्टा हिन्ट्साले न्युयोर्क टाइम्सलाई बताएकी थिइन् ।

प्रतिक्रिया