काल बनेर आयो मनसुनः १२ घण्टामा ११ जनाको मृत्यु, ३ बेपत्ता


काठमाडाैं- लामो समयपछि नेपाल भित्रिएको मनसुनले सुरुमै ताण्डव मच्चाएको छ । अविरल वर्षासँगै आएको पहिरो र चट्याङका कारण पछिल्लो १२ घण्टामा हालसम्म देशभर ११ जनाले ज्यान गुमाएका छन् । यस्तै पहिरोमा परेर ३ जना बेपत्ता भएका छन् भने चट्याङ लागेर ६ जना घाइते भएका छन् ।

अविरल वर्षापछि पहिरोमा परेर कास्कीमा दुई छुट्टाछुट्टै घटनामा एक बालक र एक बालिकाको मृत्यु भएको छ । कास्कीको मादी गाउँपालिका–५ चितेपानी घुम्तीमा गएराति पहिरोमा पुरिएर १३ वर्षीया आयुस्मा रानाभाटको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले जानकारी दिए ।

उक्त घटनामा ७० वर्षीया हजुरआमा लालमाया बन्जाराको उद्धार गरिएको छ । इलाका प्रहरी कार्यालय शिशुवाको टोलीले लालमायाको उद्धार गरेको हो । गएराति नै पोखरा महानगरपालिका–२७ आरुपाटामा ३१ वर्षीय हरि सुनारको घर पहिरोले भत्किँदा उनका तीन वर्षीय छोरा अनमोलको मृत्यु भएको छ ।

उक्त घटनामा सुनारकी श्रीमती २७ वर्षीया रितु घाइते भएकी प्रहरी नायब उपरीक्षक शर्माले बताए । उनको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ । घटनामा हरि र उनका नौ वर्षीया छोरी अञ्जलीको सकुशल उद्धार गरिएको छ ।

यस्तै, लमजुङको क्व्होलासोथर गाउँपालिका–३ बगुमस्थित पच्युटोलमा पहिरोमा परेर बेपत्ता भएका चार जनामध्ये एक जनाको शव फेला परेको छ । तीन जना अझै बेपत्ता छन् ।

वडासदस्य विनप्रसाद घलेका अनुसार पहिरोमा परी बेपत्ता भएकामध्ये ६९ वर्षीय रूद्रमान गुरुङको शव फेला परेको हो । पच्युटोलमा गए राति पहिराले तीन घर पुरिँदा चार जना बेपत्ता भएका थिए भने एक जना घाइते भएका थिए । बेपत्ता भएकाहरूको आज बिहानैदेखि स्थानीय र प्रहरीले खोजी गरिरहेका छन् ।

लगातारको वर्षासँगै घरमाथिबाट आएको पहिरोले स्थानीय चित्र घले, रुद्रमान गुरुङ र पञ्चकुमारी गुरुङको घर पुरिएको हो । पहिरोमा परी ३६ वर्षीया पञ्चकुमारी गुरुङ र उनकी पाँच वर्षीया छोरी नम्रता तथा सात वर्षीया इच्छा गुरुङ अझै बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक थानेश्वर चपाइँले जानकारी दिए ।

यस्तै, ओखलढुङ्गामा पहिरोले पुरिएर एक जनाको मृत्यु भएको छ भने दुई घाइते भएका छन् ।

चिसङ्खुगढी गाउँपालिका–५ थुम्कीमा आज बिहान पहिरोले घरगोठ पुरिँदा ३५ वर्षीया देवकुमारी खत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक विजय कार्कीले जानकारी दिए ।

पहिराेमा परी देवकुमारीका श्रीमान् ३९ वर्षीय बाबुराम खत्री र छोरी १८ वर्षीया मेनुका गम्भीर घाइते भएका छन् ।
प्रहरी चौकी सेर्नाबाट खटिएको प्रहरी टोली र स्थानीयको सहयोगमा दुवैजनाको उद्धार गरिएको हो । उनीहरूलाई उपचारका लागि अस्पताल लगिएको छ ।

यसैगरी चट्याङ लागेर हालसम्म ७ जनाको ज्यान गएको छ । कैलालीमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।

बुधबार बिहान परेको चट्याङ लागेर धनगढी उपमहानगरपालिका र जोशीपुर गाउँपालिकाका एक÷एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कबिन्द्रसिंह बोहोराले धनगढी उपमहानगरपालिका–१८ एफ गाँउका २७ वर्षीय शालिम चौधरी र जोशीपुर गाउँपालिका–३ का ३१ वर्षीय जयराम डगौराको चट्याङ लागेर मृत्यु भएको बताए ।

उनका अनुसार आफ्नै घर नजिक रहेको खेतमा रोपाई गर्ने क्रममा चट्याङ लागेर गम्भीर घाइते भएका चौधरीको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

जोशीपुरका डगौरालाई खेतमा आली बनाउने क्रममा चट्याङ लागेको थियो । उनको स्थानीय स्वास्थ्य संस्थामा उपचारका क्रममा मृत्यु भएको हो ।

चट्याङ लागेर अन्य ६ जना गम्भीर घाइते भएका छन् । विद्यालय जाने क्रममा घोडाघोडी नगरपालिका–९ बुदेनीमा तीन बालिका घाइते भएका छन् । घोडाघोडी–९ की ९ वर्षीया सरस्वती भुल, ७ वर्षीय पारु कठात र १० वर्षीया खिमा कठातलाई थप उपचारका लागि कोहलपुर रेफर गरिएको छ ।

यस्तै जानकी गाउँपालिका–बेलपुर बस्ने २९ वर्षकी रिता कठरिया, सोही ठाउँकी २३ वर्षीया सुस्मा डगौरा र भजनी नगरपालिका– ६ बस्ने वर्ष ५५ का रामबहादुर चौधरी पनि घाइते भएका छन् ।

उता, चट्याङ लागेर कपिलवस्तुमा दुईजनाको मृत्यु भएको छ । बुद्धभूमि नगरपालिका–१० धनकौली १७ वर्षे राजु ठाकुर र यशोधरा गाउँपालिका–६ भैइसहियाका २२ वर्षे महेश कलवारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक महेशविक्रम शाहीले बताए ।

बुधबार बिहान साढे ७ बजेतिर खेतमा काम गर्दैगर्दा चट्याङ लागेर दुवैको मृत्यु भएको हो ।

रोल्पामा पनि चट्याङले २ जनाको मृत्यु भएको छ । बिहान चट्याङ पर्दा पूर्वी रोल्पाको सुनछहरी गाउँपालिका–३ का दुई महिलाको ज्यान गएको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार सुनछहरी–३ बाहिरीगामस्थित दाङ्जा गाउँका २२ वर्षीया जैता घर्ती मगर र १४ वर्षीया गोमाला घर्तीमगरको चट्याङ लागेर मृत्यु भएको हो । प्रहरीले चट्याङ पर्दा एउटै घरभित्र सुतेका नन्द भाउजु नाता पर्ने दुई महिलाको मृत्यु भएको जनाएको छ ।

मृतकको शव सुलीचौरस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा पोस्टमार्टमका लागि ल्याइएको रोल्पाका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक भरत लामाले बताए ।

यस्तै लमजुङमा पनि एकजनाको मृत्यु भएको छ । क्व्होलासोथार गाउँपालिका–७ तल्लो चरागाउँ केम्लीका ६५ वर्षीय दानबहादुर भुजेलको मृत्यु भएको वडाअध्यक्ष लक्षुमन गुरुङले जानकारी दिए ।

मंगलबार राति २ बजेतिर पिसाव फेर्न भनी बाहिर निस्केको बेलामा चट्याङले लागेर उनको मृत्यु भएको बुझिएको छ ।

प्रतिक्रिया