कैलालीमा चट्याङ लागेर दुईको मृत्यु, चार जना घाइते


कैलाली- कैलालीमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ ।  धनगढी उपमहानगरपालिका–१८ एफ गाँउका २७ वर्षीय शालिम चौधरीको बुधबार बिहान चट्याङ लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कबिन्द्रसिह बोहोराले चौधरीलाई आफ्नै घर नजिक रहेको खेतमा रोपाई गर्ने क्रममा चट्याङ लागेको बताए । उनलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल ल्याइएको थियो ।

उपचारकै क्रममा उनको मृत्यु भएको बोहोराले बताए । अहिले चौधरीको शव परीक्षणका लागि अस्पतालमै राखिएको छ ।

यस्तै जोशीपुर गाउँपालिका ३ भितरीया बस्ने वर्ष ३२ वर्षीय जयराम डंगौराको ज्यान गएको छ ।

बिहान  घरदेखि ३ सय मिटर पूर्व आफ्नै खेतमा काम गर्ने क्रममा चट्याङ लागेर घाइते भएका डंगौराको स्थानीय मेडिकल महापार्वती मेडिकलमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय जोशीपुरले जनाएको छ ।

त्यस्तै जिल्लाको भजनी नगरपालिका ६ महादेउली बस्ने ५५ वर्षीय रामबहादुर चौधरी सोही समयमा चट्याङ पर्दा घाइते भएका छन् । उनलाई उपचारका लागि धनगढी रेफर गरिएको प्रहरीले जनाएको छ ।

यस्तै विद्यालय जाने क्रममा जिल्लाको घोडाघोडी नगरपालिका–९ बुदेनी बस्ने ३ बालिकाहरू गम्भीर घाइते भएका छन् । इलाका प्रहरी सुखडका प्रहरी नायव उपरीक्षक दीपेन्द्र पालका अनुसार घाइते हुनेमा ९ वर्षीय सरस्वती भुल, ७ वर्षीय पारु कठायत र १० वर्षीय खिमा कठायत रहेका छन् । उनीहरू अध्ययनरत मोहन्याम आधारभूत विद्यालय बुदेनीको गेटमा पुग्ने क्रममा चट्याङ लागेको थियो ।

गम्भीर घाइते बालिका एक बालिकाका चट्याङ लागेर आन्द्रा बाहिर आएको छ भने, दुई बालिकाको टाउको चोट लागेको प्रहरी नायव उपरीक्षक पालले बताए ।

उनीहरूलाई थप उपचारका लागि बाँकेको कोहलपुर मेडिकल कलेज रेफर गरिएको छ ।

 

प्रतिक्रिया