नक्कली प्रहरी बनेर २ करोड लुट्ने समुहका थप १ जना ओखलढुङ्गाबाट पक्राउ


काठमाडौं – आफुलाई प्रहरीको इन्सपेक्टर भन्दै भक्तपुरमा २ करोड लुटपाट गर्ने गिरोहका थप एकजना ओखलढुङ्गाबाट पक्राउ परेका छन् ।

यसअघि नै सो घटनामा दुईजना पक्राउ परिसकेका छन् ।

घटनामा आफन्तको समेत संलग्नता रहेको खुलेको छ ।

एक उच्च प्रहरी अधिकारीका अनुसार १ जना ओखलढुङ्गाबाट पक्राउ परेको र केही रकम समेत बरामद भएको छ ।

पीडित भनिएकाले २ करोड लुटिएको बताएपनि पक्राउ परेकाहरुले १ करोड बराबरको लुटपाट गरेको बताएको ती अधिकारीले बताए ।

भक्तपुरका एक व्यवसायीको घरबाट दुई करोड रुपैयाँ लुटपाट भएको थियो । आफूहरू प्रहरी भएको भन्दै चार जनाको समूहले दधिकोटका एक व्यवसायीको घरबाट उक्त नगद लुटपाट गरेका थिए ।

सीसीटिभी फुटेजका आधारमा लुटपाटमा संलग्नको पहिचान भएको थियो । आधिकारिक रुपमा प्रहरीले घटनाबारे केही बताउन चाहेको छैन् ।

उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले घटनाको अनुसन्धान गरिरहेको छ ।

उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराईले अनुसन्धान जारी रहेको भन्दै कुनै कुरा बताउन चाहेनन् ।

प्रतिक्रिया