यो समीकरण हुँदै बृहत् वामपन्थी एकीकरणमा जाँदैछौँ : सापकोटा


काठमाडौँ – पूर्वसभामुख एवं नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष अग्निप्रसाद सापकोटाले कम्युनिस्ट पार्टीहरू एकीकरणको तयारी भइरहेको बताएका छन् । वामपन्थी एकीकरणमा जानुपर्ने माग उठिरहेको उनको भनाइ छ ।

काठमाडौँमा शनिबार आयोजित कार्यक्रममा सापकोटाले राजनीतिक मुद्दा मिल्नेहरूसँग मोर्चा बनाई बृहत् वामपन्थी एकीकरण गर्ने तयारीमा रहेको बताएका हुन् । कम्युनिस्ट पार्टीलाई विगतमा जोगाउन नसकिएको उल्लेख गर्दै अहिले बनेको नयाँ समीकरण हुँदै बृहत् वामपन्थी एकीकरण र कम्युनिस्ट पार्टीको पुनर्गठनतिर अघि बढिरहेको उनको भनाइ छ ।

‘राजनीतिक पुनर्गठनमा मुद्दा मिल्नेहरूसँग खुकुलो प्रकारको मोर्चा, बृहत् वामपन्थी एकीकरण र कम्युनिस्ट पार्टीको पुनर्गठन हो । हिजो हामीले पुनर्गठन गरेका थियौँ । त्यसलाई हामीले जोगाउन सकेनौँ, त्यो विघटन भएको छ, ’उपाध्यक्ष सापकोटाले भने, ‘आज नयाँ समीकरण बनेको छ । यो नयाँ समीकरण हुँदै हामी बृहत् वामपन्थी एकीकरण हुँदै कम्युनिस्ट पार्टीको पुनर्गठनतिर जाँदैछौं ।’

वामपन्थी एकीकरण हुन सक्दैन र त्यसले सरकार चलाउन सक्दैन भन्ने सार्वजनिक बहसमा सत्यता नरहेको उपाध्यक्ष सापकोटाको भनाइ छ । उनले भने, ‘अहिले के भनिरहेका छन् भने वामपन्थी एकीकरणले न सरकार चल्छ न देश चल्छ । होइन, यो विचारलाई हामी पूरै खारेज गर्न चाहन्छुँ । नेपाली जनता वामपन्थीहरूलाई रुचाउँछन् । वामपन्थीहरूलाई मन पराउँछन् मात्रै होइन, नेपाली जनता फेरि कम्युनिस्ट पार्टीको पुनर्गठन चाहन्छन् । त्यसकारण हाम्रो राजनीतिक कार्यदिशाको रूपमा बृहत् वामपन्थी एकीकरण र कम्युनिस्ट पार्टीको पुनर्गठन ।’

राजनीतिक दलको कार्यदिशा अब त्यतातिर हुनुपर्ने सापकोटाको भनाइ छ । उनले समाजवाद भनेको गरिबी नभई सबैका लागि समृद्ध समाज बनाउने राजनीतिक कार्यदिशा भएको बताए ।

प्रतिक्रिया