११ महिनामा २९ अर्ब बढीको विद्युतीय सवारी भित्रियो


काठमाडौं – चालु आर्थिक वर्षको ११ महिनामा २९ अर्ब बढीको ११ हजार ४६६ वटा विद्युतीय गाडी नेपाल आयात भएका छन् ।

सरकारले विद्युतीय कारमा कर बढाउने हल्ला चलेका कारण बैशाख र जेठमा धेरै संख्यामा विद्युतीय सवारी आयात भएको पाइएको छ ।

चालु आवको १० महिना साउनदेखि बैशाखसम्ममा ८,४९७ वटा विद्युतीय कार आयात भएकोमा जेठ एक महिनामै २,९६९ वटा विद्युतीय कार आयात भएको भन्सार विभागको तथ्याङ्कले देखाएको छ ।

उक्त संख्यामा कार आयात गर्दा सरकारले १३ अर्ब ६ करोड रुपैयाँ राजस्व संकलन गरेको छ । यो अवधिमा सबैभन्दा बढी चीन र भारतबाट धेरै विद्युतीय कार आयात भएको हो ।

११ महिनामा ५० किलोवाटसम्म मोटर क्षमता भएका ४३ सय ४४ वटा, ५१ देखि १ सय किलोवाट मोटर क्षमताका ६,८८५ वटा र १०१ देखि २ सय किलोवाट मोटर क्षमताका २०९ वटा विद्युतीय कार आयात भएका छन् ।

त्यस्तै २०१ देखि ३ सय किलोवाटसम्म मोटर क्षमताका २७ वटा र ३ सय किलोवाटभन्दा माथि मोटर क्षमताको एउटा विद्युतीय कार आयात भएको तथ्याङ्क भन्सारमा रहेको छ ।

प्रतिक्रिया