आइएफजे बैठकमा प्रेस युनियनले भन्यो- नेपालमा प्रेसमाथि नियन्त्रण गरिँदैछ


लण्डन- अन्तर्राष्ट्रिय पत्रकार महासंघ (आइएफजे) को लण्डनमा जारी वार्षिक बैठकमा नेपालको तर्फबाट प्रतिनिधित्व गर्दै नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्सालले संविधान प्रदत्त पूर्ण प्रेस स्वतन्त्रतामाथि आक्रमण प्रयास भइरहेको बताएका छन् ।

आइएफजे बैठकमा बोल्दै युनियनका अध्यक्ष लम्सालले संघ, प्रदेश र स्थानीय सरकारहरुले कानून निर्माण गर्दा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको मर्मलाई वेवास्ता गर्ने क्रम बढेको उल्लेख गरे । उनले युनियनको अगुवाईमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र प्रेसमैत्री कानून कार्यान्वयनका लागि अग्रसरता र पहल जारी राखिएको बताए ।

हालै नेपालमा समाचार लेखिएकै पृष्ठभूमीलाई आधार बनाएर कान्तिपूर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई सञ्चारगृहबाट हतियारधारी प्रहरीले गिरफ्तार गरेको सन्दर्भ उल्लेख गर्दै लम्सालले नेपालमा धेरै सञ्चारकर्मीले सरकारी र गैरसरकारी पक्षबाट चुनौतीको सामना गर्नुपरेको उल्लेख गरे । एकातिर श्रमजीवी पत्रकारको पेशागत सुरक्षाको सवाल र अर्कोतर्फ समग्र प्रेस स्वतन्त्रताको सवाल रहेको भन्दै लम्सालले दुवै विषयलाई प्राथमिकता दिनुपर्ने बताए ।

नेपालमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको अवस्थाबारे अनुगमन गर्न आइएफजेको प्रतिनिधिमण्डललाई निम्तो समेत दिदैं युनियन अध्यक्ष लम्सालले नेपाली पत्रकारिताको व्यवसायिकता र निष्पक्ष विश्वका अन्य धेरै देशभन्दा उत्कृष्ट रहेको दावीसमेत गरे । आइएफजेको वार्षिक सभामा नेपालको प्रतिनिधित्व नेपाल प्रेस युनियनले गर्दै आएको छ । युनियन आइएफजेको आवद्धता हासिल गर्ने पहिलो नेपाली संस्था हो ।

प्रतिक्रिया