जबरजस्ती करणी गरेको आरोपमा कञ्चनपुर घर भएका प्रहरी जवान पक्राउ
हेटौंडा – जबरजस्ती करणी गरेको आपरोपमा प्रहरी जवान पक्राउ परेका छन् ।
१७ वर्षीया नाबालिकामाथि जबरजस्ती करणी गरेको आपरोपमा प्रहरी चौकी भार्तामा कार्यरत प्रहरी जवान कञ्चनपुर घर भएका २४ वर्षीय सन्तोष बोट पक्राउ परेका हुन् ।
नाबालिकाले जिल्ला प्रहरी कार्यालय मकवानपुरमा जाहेरी दर्ता गरेपछि प्रहरी जवानलाई पक्राउ गरिएको मकवानपुरका प्रहरी प्रमुख एसपी सिताराम रिजालले जानकारी दिए ।
एसपी रिजालका अनुसार प्रहरी जवान बोटले ८ कक्षामा अध्ययनरत नाबालिकामाथि अन्तिम पटक जेठ ११ जबरजस्ती करणी गरेको जाहेरीमा उल्लेख छ । पक्राउ परेका उनीमाथि अनुसन्धान सकेर फाइल सरकारी वकिलको कार्यालयमा पठाइसकेको मकवानपुर प्रहरीले जनाएको छ ।
एसपी रिजालले नाबालिकामाथि जरबजस्ती करणी गर्ने प्रहरी जवानलाई १६ जेठमै पक्राउ गरिएको बताए । तर, प्रहरीबाटै भएको जबरजस्तीकरणीको मुद्दा गुपचुपमा राखिएको थियो । अभिभावकविहीन नाबालिकालाई प्रेमको बहानामा पटक(पटक जबरजस्तीकरणी गरेको जाहेरीमा छ । नाबालिकाले १६ जेठमा जिल्ला प्रहरी कार्यालयमा आएर जाहेरी दर्ता गराएकी थिइन् । नाबालिका बस्ने छात्राबासकी एक महिलाले बोटले पठाएको प्रेम पत्र भेटेपछि सोधपुछ गर्दा उनीमाथि भएको घटना बाहिर आएको हो ।