चार छोराछोरीसहित कर्णाली नदीमा हामफालेकी सुकी बडुवालको गर्भमा ४ महिने शिशु


दैलेख – आठबीस नगरपालिका–३ निमायलकी ३५ वर्षीया सुकी बडुवालले चार छोराछोरीसहित कर्णाली नदीमा हाम फालेको घटनामा सबै जनाको पानीमा डुबेर मृत्यु भएको पोस्टमार्टम रिपोर्टले देखाएको छ ।

जिल्ला अस्पतालले मृतक सबैको पोस्टमार्टम गरी प्रहरीलाई बुझाएको रिपोर्टमा उक्त निष्कर्ष उल्लेख छ । ‘रिपोर्ट हेर्दा सबै जनाको डुबेर मृत्यु भएको देखिन्छ,’ जिल्ला अस्पताल अछामका प्रमुख डा। अतुल भारद्वाजले भने ।

सुकीले अघिल्लो आइतबार छोरीहरू १४ वर्षीया कल्पना, ११ वर्षीया सरिता, ५ वर्षकी रजनी र छोरा ८ वर्षीय ललितसँगै कर्णाली नदीमा हाम फालेकी थिइन् । रिपोर्टअनुसार सुकीको गर्भमा ४ महिनाको शिशुसमेत थियो । प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार गर्भपतन गर्ने विषयमा सुकीका श्रीमान् मानसिंहसँग विवाद भइरहेको थियो ।

घटनाको दुई साताअघि दिदी नाता पर्ने नैना थापाले सुकीलाई केही रकम सापटी दिएकी थिइन् । ‘सापटीकै पैसाले श्रीमान्ले दिनदिनै मदिरा खाएर कुट्ने गरेकाले जन्मिएको बच्चाले पनि दुःख पाउँछ भन्दै उनले आत्महत्या गरेकी हुन सक्छिन्,’ उनले भनिन्, ‘लामो समयदेखि आफू श्रीमान्बाट पीडित भएको कुरा उनले मसँग पनि बताएकी थिइन् ।’ मानसिंहले परपुरुषसँग सम्बन्ध भएको आरोप लगाउँदै सुकीलाई पटक–पटक यातनासमेत दिने गरेका थिए ।

दुईबीचको झगडा धेरै पटक मिलाएको सुकीका भिनाजु शेरबहादुर सिजापतिले बताए । ‘छोरा चाहिन्छ भन्दै पटक–पटक यातना दिने गरेका रहेछन्,’ उनले भने, ‘लगातारको कुटपिटका कारण सुकीमा मानसिक समस्या पनि देखिएको थियो ।’  कान्तिपुर दैनिकमा खबर छ।

प्रतिक्रिया