भारतमा बाढीमा परी मृत्यु हुनेको संख्या ३१ पुग्यो


नयाँदिल्ली – भारतको उत्तरपूर्वी राज्य आसाममा चलिरहेको बाढीमा परी मृत्यु हुनेको संख्या ३१ पुगेको अधिकारीले बुधबार बताएका छन् ।

प्रहरीका अनुसार मंगलबार राति आसामको मुख्य सहर गुवाहाटीबाट करिब २८१ किलोमिटर दक्षिणपूर्वमा रहेको करिमगन्ज जिल्लाको बदरपुर क्षेत्रमा वर्षापछि आएको पहिरोमा परी एक नाबालकसहित पाँच जनाको मृत्यु भएको छ ।

अधिकारीले पीडित महिला र उनका तीन छोरीको पहिचान गरिएको बताए । भग्नावशेषबाट तीन वर्षीय बालकको शव पनि निकालिएको छ । असम राज्य विपद् व्यवस्थापन प्राधिकरण (एएसडिएमए) ले बाढीका कारण १५ जिल्लाका एक लाख ६१ हजार २०९ व्यक्ति प्रभावित भएको जनाएको छ ।

सबैभन्दा बढी प्रभावित जिल्ला करिमगञ्जमा एक लाख ५२ हजार १३३ जना मानिस बाढीले प्रभावित भएका छन् । बाढीले प्रभावित जिल्लाहरूको एक हजार ३७८.६४ हेक्टर बाली उत्पादन क्षेत्रलाई पनि असर पारेको छ । हाल ४७० गाउँ पानीमा डुबेका एएसडिएमएले जनाएको छ ।

प्रतिक्रिया