इलाका प्रहरी कार्यालय नजिकै दुई युवामाथि खुकुरी प्रहार, चार जना पक्राउ


लमजुङ — लमजुङमा दुई जना युवामाथि खुकुरी प्रहार भएको छ।

सुन्दरबजार नगरपालिका–९ स्थित इलाका प्रहरी कार्यालय भोटेओडार नजिकै मंगलबार दिउँसो २ युवामाथि खुकुरी प्रहार भएको प्रहरीले जनाएको छ। खुकुरी आक्रमणबाट दूधपोखरी गाउँपालिका–६ गौडा निवासी ४२ वर्षीय लिलाजंग गुरुङ गम्भीर घाइते र दोर्दी गाउँपालिका–४ निवासी ४० वर्षीय मंगलराज गुरुङ सामान्य घाइते भएका छन्।

लिलाजंगको टाउकोको अगाडिको भागमा गम्भीर चोट लागेको छ। गम्भीर घाइते उनलाई भोटेओडार अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि चितवन पठाइएको छ। मंगलराज भने सामान्य उपचारपछि डिस्चार्ज भएका छन्।

घटनामा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ। प्रहरीले सुन्दरबजार नगरपालिका–९, बालुने टोलका आकाश भन्ने ३० वर्षीय केशव घले, दोर्दी गाउँपालिका–५, पाचोकका ३६ वर्षीय भीमसेन गुरुङ, दोर्दी गाउँपालिका–६, ताँजेका ३१ वर्षीय पूर्णबहादुर तामाङ र दोर्दी गाउँपालिका ७, लप्सीबोटका ३८ वर्षीय प्रवीण गुरुङलाई नियन्त्रणमा लिएको  छ ।

प्रहरी निरीक्षक चपाईंले युवाहरूबीच पुरानो रिसिबीको कारण झगडा भएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको बताए।

प्रतिक्रिया