गृहमन्त्रीले प्रहरीभित्रको चेन अफ कमान्डलाई लाचार छायाँ बनाउन खोजे : सांसद केसी


काठमाडौं- प्रमुख प्रतिपक्षी कांग्रेसका सांसद अर्जुननरसिंह केसीले गृहमन्त्रीबाट प्रहरी प्रमुखमाथि वक्रदृष्टि राख्ने सुरक्षा कमान्डमा ‘चेन अफ कमान्ड’ तोड्ने काम भएको आरोप लगाएका छन् ।

विनियोजन विधेयक अन्तर्गत गृहमन्त्रालयको बजेटमाथि मंगलवार प्रतिनिधि सभामा भएको छलफलमा कांग्रेस सांसद अर्जुननरसिंह केसीले नियमावलीविपरीत प्रहरीमा सरुवा आतंक भइरहेको बताएका हुन् ।

‘सरकारले सय दिन कटाइसकेको छ । सय दिनमा १७ चोटी प्रहरी परिवर्तन भए । ३४ सय भन्दा बढी प्रहरी यो तीन महिनाको अवधिमा परिवर्तन भए । ६६ जना सिडियो र सहायक सिडियो परिवर्तन भएका छन् । १०० दिन भित्र यत्रो परिवर्तनको आवश्यकता किन ? जबकी प्रहरी नियमावलीमा स्पष्ट रुपमा एक वर्षसम्म विशेष परिस्थिति वा उसको काममा खोट देखिएमात्रै परिवर्तन गर्न सकिन्छ, नभए भने परिवर्तन गर्न नहुन्न भन्ने छ’ उनले भने  ।

कांग्रेस नेता केसीले गृहमन्त्रीले प्रहरी प्रमुखमाथि वक्रदृष्टि राखेको आरोप लगाए ।  ‘अहिले सरुवा आतंक, आतंक मात्र होइन प्रहरीभित्रको चेन अफ कमान्डलाई लाचार छायाँ बनाउने खालको जुन काम गरिएको छ त्यो गृहमन्त्रीबाट आशा गरिएको होइन ,’ केसीले भने, ‘जुन ढंगको सरुवा आतंक, प्रशासनलाई निरीह छायाँ बनाउने र सुरक्षा अंगहरूमा चेन अफ कमान्ड ब्रेक गर्ने र प्रमुखहरूमाथि नै बक्रदृष्टि राख्ने खालको स्थिति पुगेको छ त्यस्ता विषयमा गम्भीर हुन म गृहमन्त्रीजीलाई आग्रह गर्न चाहन्छु ।’

प्रतिक्रिया