दया लागेर साथीलाई बास दिएकी श्रद्धालाई यस्तो धोका


काठमाडाैं- बाँकेको नेपालगञ्जकी श्रद्धा दाहाल अध्ययनको शिलशिलामा जापान गएको केही वर्ष भएको थियो । सोही क्रममा उनकै गृहनगरकी मिरा श्रेष्ठसँग सामान्य चिनजान भएको थियो ।

एकदिन मिराले आफूलाई समस्या परेको भन्दै श्रद्धालाई गुहारिन् । उनले आफ्नो कोठा क्यान्सिल भएको र नेपाल फर्किरहेकाले २ दिनसम्म कोठामा बास दिन आग्रह गरेकी थिइन् । श्रद्धाले पनि आफ्नै ठाउँको मान्छे भएकाले बस्न आउन भनिन् ।

‘खासै चिनजान नभएपनि एउटा नेपाली भएको नाताले उनलाई सहयोग गरे । तर, राति म सुतिरहेको अवस्थामा दराजबाट मेरो पासपोर्ट, जापानको परिचय पत्र (जाइरो कार्ड), बैंक खाताका कागजपत्र र केही रकमसमेत उनले चोरिन्,’ श्रद्धाले भनिन्, ‘त्यति मात्रै होइन, मेरै नामबाट टिकट काटेर मेरो परिचय लिएर नेपाल गइन् ।’

उनले घटनाबारे नेपालमा रहेका आफन्तलाई खबर गरेपछि प्रहरीले नेपाल पुगेकी मिरालाई पक्राउ गरि मुद्दा दर्ता गरेको थियो । जेठ ७ गते नेपाल आएकी उनलाई प्रहरीले बुद्धनगरस्थित साथीको डेराबाट पक्राउ गरी राहदानीसम्बन्धी मुद्दा चलाएको थियो ।

मिराले एक हप्ता कलेज जान नसक्दा आफ्नो भिसा रद्द भएपछि साथीको पासपोर्ट लिएर नेपाल आएकोे बयानमा बताएकी थिइन् । उनले सजिलै दुवै विमानस्थलबाट पास भएकोसमेत बताएकी थिइन् । तर, नेपाल आएपछि उनले श्रद्धाको पासपोर्ट च्यातेकी थिइन् ।

अदालतले राहदानीसम्बन्धी कसुर मुद्दामा उनलाई २० दिन कैद र दुई लाख पाँच हजार जरिवानाको फैसला गरेको थियो । २० दिन कैद भुक्तान गरेपछि उनी रिहा भइसकेकी छिन् । तर, उता पीडित श्रद्धालाई भने सास्ती भइरहेको छ । ‘पासपोर्ट नभएकाले मैले जापानमा धेरै समस्या झेल्नु परेको छ । अहिलेसम्म भिसा लिन पाएको छैन’ उनले भनिन् ।

श्रद्धाका अनुसार मिराले प्रहरीलाई दिएको बयानजस्तै कलेज नगएकै कारण जापानमा भिसा क्यान्सिल हुँदैन । ‘त्यो केटीले सबै झुठो कुरा गरेर आफू सजिलै बाहिर निस्किएकी छिन् । जापान र नेपालको अध्यागमन यस्तो कमजोर हो त ? नेपालीले नेपालीको विश्वास गर्न पनि अब सोच्नै पर्ने हो त ?’ उनले प्रश्न गरिन् ।

 

प्रतिक्रिया