निर्देशक सुदर्शन थापाविरुद्ध डेढ करोड ठगी मुद्दा दायर


काठमाडौं – फिल्म निर्देशक सुदर्शन थापाले १ करोड ५० लाख रुपैयाँ ठगी गरेको आरोपमा मुद्दा दायर भएको छ ।

प्रहरी वृत्त बौद्धले उनीविरुद्ध अनुसन्धान सकेर जिल्ला सरकारी वकिल कार्यालयमा रायसहितको प्रतिवेदन बुझाएको थियो । प्रहरी प्रतिवेदनका आधारमा सरकारी वकिलले आइतबार जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको हो ।

यो मुद्दामा थापासहित ओमप्रकाश अग्रवाल र मिलन कुमार श्रेष्ठलाई पनि प्रतिवादी बनाइएको छ । उनीहरु तीन जनाविरुद्ध पशुपति प्रसाद–२ का निर्माता सुदर्शन बस्नेतले प्रहरीमा जाहेरी दिएका थिए । पशुपति प्रसाद–२ चलचित्र निर्माण गर्दा थापा निर्देशक, र श्रेष्ठ सम्पादक थिए ।

अनुमतिबिना ओएसआरको युट्युबबाट चलचित्रमार्फत ६० लाख, विदेशी मुलुकहरुबाट ९० लाख गरी १ करोड ५० लाख समेत आर्जन गरेर ठगी गरेको निर्माता बस्नेतको आरोप थियो ।

विश्वासघात गरेर लाभ लिई मुलुकी फौजदारी अपराध संहिताको दफा २४९ को उपदफा ९१० अनुसारको कसुर गरको आरोपमा उनीहरुविरुद्ध मुद्दा दायर गरिएको छ । १ करोड ५० हजार रुपैयाँ बिगो, क्षतिपूर्तिका साथै ७ वर्षसम्मको कैद मागदाबी गरिएको छ ।

२१ जेठमा प्रहरी वृत्त मालीगाउँले थापालाई पक्राउ गरेर प्रहरी वृत्त बौद्धको जिम्मा लगाएको थियो । त्यसपछि उनलाई २३ जेठमा हाजिर जमानीमा छाडेर प्रहरीले ठगी मुद्दामा अनुसन्धान गरेको थियो ।

प्रतिक्रिया