प्रहरी कर्मचारीका लागि आध्यात्मिक चिन्तन महत्वपूर्ण छ : प्रहरी महानिरीक्षक कुँवर


काठमाडौँ – प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले प्रहरी कर्मचारीका लागि आध्यात्मिक चिन्तन अतिआवश्यक रहेको बताएका छन् ।

काठमाडौँको बूढानीलकण्ठस्थित नेपाल विपस्यना केन्द्रमा आज १० दिवसीय विपस्यना ध्यान शिविरको समापनका अवसरमा महानिरीक्षक कुँवरले कार्यक्रमा सहभागी प्रहरी निरीक्षकको जागिरे जीवनमा मात्र नभई व्यक्तिगत जीवनमा समेत आध्यात्मिक चिन्तनले प्रत्यक्ष लाभ पुग्ने विश्वास व्यक्त गरे ।

उनले प्रहरीको जीवनशैली चुनौतीपूर्ण रहेको उल्लेख गर्दै विभिन्न कठिनाइहरूको सामना गर्नु अगाडि आत्मचिन्तन, आत्मानुभूति र तनावमुक्त हुन पाउनु एउटा अमूल्य अवसर रहेको उल्लेख गरे । “जीवनमा आइपर्ने विभिन्न बाधा, कठिनाइ, चुनौतीले धेरै उदास नहुने र प्राप्त हुने हर्ष उल्लासले वास्तविकता नबिर्सने ज्ञान र सीप प्राप्त गर्नसमेत यो ध्यान शिविरले मद्दत पुर्‍याउने विश्वास लिएको छु’, महानिरीक्षक कुँवरले भने,“शिविरमा सहभागी भएका प्रहरी निरीक्षकहरूले सधैँ विवेकशील र व्यावसायिक ढङ्गले आफ्नो कर्तव्यपालन गर्ने र नेपाल प्रहरीको उज्ज्वल भविष्यका रूपमा आफूलाई साबित गर्नसमेत यसले महत्वपूर्ण काम गर्नेछ ।”

प्रतिक्रिया