महिला मजदुर मृत्यु प्रकरण: स्थानीय प्रशासन र मृतकका आफन्तबीच १० बुँदे सहमति


काठमाडौँ – सदरमुकाम कावासोतीको फलफूल चोकमा ढल निर्माणका क्रममा असावधानीले बिहीबार तीन महिला मजदुरको मृत्यु भएपछि प्रदर्शनमा उत्रिएका आफन्त र नगरपालिकाका प्रतिनिधिबीच १० बुँदे सहमति भएको छ ।

कावासोती नगरपालिकाका प्रवक्ता डोरमान गिरीका अनुसार मृतकका परिवारलाई तत्काल राहतस्वरुप नगद ५/५ लाख रुपैयाँ दिने, ५० हजारका दरले प्रतिपरिवार किरिया खर्च उपलब्ध गराउने, मृतकका एक-एक बालबच्चाका नाममा ५ लाखका दरले अक्षयकोष स्थापना गर्ने, घटनास्थलमा मृतकको शिलालेख राख्ने सहमति भएको छ ।

त्यस्तै, पीडित तीन परिवारका सबैको स्वास्थ्य बिमा गर्दै जाने, मृतकका सबै बालबच्चालाई कक्षा-१२ सम्म अध्ययन खर्च (मासिक शुल्क) र स्टेशनरी बापतको खर्च समेत नगरपालिकाले बेहोर्ने, मृतकको परिवारको घरको अवस्था अवलोकन गरी कमजोर बासस्थान भएका परिवारलाई आवासको व्यवस्था गर्ने र शव व्यवस्थापन गर्दा लाग्ने सबै खर्च नगरपालिकाले बेहोर्ने लिखित सहमति भएको छ ।

सहमतिमा कावासोतीकी उपमेयर फुलकुमारी थनेत, कर्मचारी र पीडित पक्षले हस्ताक्षर गरेका छन्। नगरपालिकाले कावासोतीको जिल्ला प्रहरी कार्यालय अघिल्तिरबाट फलफूल चोकदेखि पूर्व तर्फको ठुलो खोल्सासम्म नाला निर्माण गर्दै गर्दा त्यहाँ काम गर्ने तीन महिला मजदुरको बिहीबार ज्यान गएको थियो ।

कावासोती नगरपालिका-२ फलफूल चोकमा नाला निर्माणमा खटिएका कावासोतीका ५१ वर्षिया सेती राना, २६ वर्षकी तानमया मस्रांगि र ३२ वर्षिया चमेली सिंजालीको बिहीवार ढल खन्ने क्रममा ढिस्कोले पुरेर मृत्यु भएको थियो । उनीहरू सबै कावासोती नगरपालिका-५ निवासी कामदार हुन् ।

एउटै टोलका कामदारहरूको मृत्यु भएपछि लक्ष्मीपुर टोल शोकमग्न छ । मृतकको शव जिल्ला अस्पतालमा राखिएको छ । नगरपालिकाको लापरबाहीका कारण कारण ती महिलाहरूको मृत्यु भएको भन्दै स्थानीयले छानबिन समिति बनाउनुपर्ने र दोषीलाई कारबाही हुनुपर्ने माग गर्दै प्रदर्शनमा उत्रिएका थिए । करिब १० फिट गहिरो नाला खन्दा प्राविधिक राखेर सावधानी नअपनाइएको भन्दै स्थानीय आक्रोशित बनेका हुन् ।

कावासोती बजारमा सशस्त्र र नेपाल प्रहरी परिचालन गरिएको छ ।

प्रतिक्रिया