माओवादीमा एक्लिँदै जनार्दन, नारायणकाजी र वर्षमानको समिकरण


काठमाडौं– कुनै समय प्रभावशाली छवि र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का विश्वासपात्र रहेका नेता जनार्दन शर्मा ‘प्रभाकर’ पछिल्लो समय एक्लीन थालेका छन् । अध्यक्ष प्रचण्डसँगको निरन्तर टकरावपछि पार्टीमा उनी एक्लीदै जान लागेका हुन ।

माओवादीभित्र देशभर मुलरुपमा तीन गुट छन् । वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ,उपमहासचिव वर्षमान पुन ‘अनन्त’ र अर्का उपमहासचिव जनार्दन शर्माको गुट समुह देशैभर छ ।

वर्षमान र जनार्दन गुट हाराहारीमा छ भने श्रेष्ठको समुह सानो छ । श्रेष्ठ समुहमा युद्धकालीन नेता कार्यकर्ता प्राय छैनन् । नेताहरुलाई आपसमा भिडाएर नेतृत्वमा रहिरहने प्रचण्डले पछिल्लो समय श्रेष्ठ र पुनलाई निकट राखेका छन् ।

महासचिवको दौडमा रहेका वर्षमान र जनार्दनलाई उपमहासचिवमा थन्काएपछि जनार्दन प्रचण्डविरुद्ध लागेका थिए । जनार्दनले पार्टी र सार्वजनिक कार्यक्रममै प्रचण्डको आलोचना गर्न थालेपछि दुरी बढ्दै गएको हो ।

पार्टी र राजकिय सत्तामा समेत पछिल्लो समय जनार्दन पक्षीय नेताहरुको उपस्थिती देखिदैन ।

जसको पछिल्लो उदाहरण को कर्णाली र सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व । बलियो अवस्थामा रहेको कर्णालीमा मुख्यमन्त्री एमालेको भागमा प¥र्यो । यसबारे जनार्दन प्रचण्डसँग रुष्ट बनेका छन् ।

यसबाहेक जनार्दनको समुहमा रहेका सुदूरपश्चिमका नेता खगराज भट्टलाई दलको नेताबाट हटाउन र मुख्यमन्त्री बन्न नदिन प्रचण्ड लागेको भन्दै शर्माले पार्टी बैठकमै आलोचना गरे ।

माओवादी नेताहरुका अनुसार प्रचण्ड आफ्नो आलोचना गर्ने नेताहरुलाई रुचाउँदैनन् । तर हक्की स्वभाव भएका जनार्दन मन नपरेको कुरा बोल्ने नेतामा पर्छन । यसैको घाटा जनार्दनलाई लाग्दै गएको छ ।

पछिल्लो समय पार्टी अध्यक्ष प्रचण्डले पनि पार्टीमा गुट बनाएर समस्या पारेको बताउँदै आएका छन् । प्रचण्डको निसानामा जनार्दनतीरै भएको नेताहरु बताउँछन् ।

प्रचण्ड र जनार्दनबीच मञ्चमा भनाभन

०७९ भदौं २२ बुधबारबाट औपचारिक र सार्वजनिक कार्यक्रममै प्रचण्डविरुद्ध जनार्दन पोखिए । महासचिव बन्न प्रचण्डले रोकेपछि उनी पोखिएका थिए ।

अनेरास्ववियु क्रान्तिकारीको ‘क्रान्तिकारी फोर्स’ घोषणा कार्यक्रममा जनार्दनले आफू उपमहासचिवका रूपमा नभई संगठन विभाग प्रमुखको हैसियतमा उपस्थित भएको भन्दै पद अस्वीकार गरे । प्रचण्डकै अगाडी उनले यत्तिमात्रै भनेनन्े ‘तपाईं मैले नै हुर्काएको व्यक्ति हुँ भन्ने नबिर्सनुस’ भन्दै चेतावनी समेत दिए ।

माओवादी केन्द्रमा जनार्दन र वर्षमान पुन दुवै महासचिवका दाबेदार थिए । तर, प्रचण्डले यही भदौ ४ गते देव गुरुङलाई महासचिव बनाए ।

त्यही प्रसंगमा प्रचण्डले जनार्दनलाई जवाफ फर्काए । प्रचण्डले जनार्दनलाई धरातल नभुल्न अप्रत्यक्ष चेतावनी समेत दिएका थिए ।

प्रचण्डले भनेका थिए,‘जनार्दनले भन्नुभयो नीति र नेतृत्वको रक्षाको कुरा, जनार्दनलाई रक्षा गर्न र हुर्काउन पनि प्रचण्डको मुख्य भूमिका हो ।’

यो कार्यक्रमपछि प्रचण्डसँग जनार्दनको दुरी बढेको नेताहरु बताउँछन् । स्वयंम जनार्दनले पनि पछिल्लो समय नेता–कार्यकर्तासँग प्रचण्डले आफुले भनेको नसुन्ने र नमान्ने गरेको गुनासो गर्दै आएका छन् ।

०८० साउनमा भएको केन्द्रीय समितिको बैठकमा समेत जनार्दन शर्मालाई लक्षित गरेर अध्यक्ष प्रचण्डले आफुले साथ नपाएको आरोप लगाए ।

सोही बैठकमा प्रचण्डलाई जनार्दनले कुन अप्ठेरो र मोडमा तपाईंले मेरो साथ र समर्थन पाउनु भएन भन्दै जवाफ मागेका थिए ।

अहिले जनार्दन पार्टीको खासै जिम्मेवारीमा छैनन् ।

पार्टीको विधान अधिवेशनमा शर्माले प्रस्तुत गरेको अध्यक्ष र पदाधिकारीसमेत अधिवेशनबाट चुनिनुपर्ने एजेन्डा पास भएपछि प्रचण्डबाट निरन्तर प्रहार भइरहेको उनीनिकट नेताहरु बताउँछन् ।

जनार्दन साइजमा ल्याउन वर्षमान

कुनै समय प्रचण्डको उत्तराधिकारीका रुपमा हेरिएका नेत्रविक्रम चन्द ‘विप्लव’ पार्टी छाडेर गएपछि माओवादीमै रहेका वर्षमान र जनार्दन बलिया बने । दुवै नेताले प्रचण्डलाई बलियो साथ दिए ।

नेताहरुका अनुसार प्रचण्ड स्वंयम वर्षमान र जनार्दनको एक समुह होस् भन्ने चाहना राख्दैनन् । पुर्वदेखि पश्चिमसम्म दुवै नेताको बलियो समुह छ । नेताहरु भन्छन्‘जनार्दन र वर्षमान एक ठाउँमा आए पार्टी पुरै उनीहरुको पक्षमा हुने देखिन्छ । उनीहरुले चाहेअनुसार अध्यक्षलाई डोर्याउनसक्छन् । तर अध्यक्ष दुई नेतामध्ये एकलाई मात्रै बोक्न चाहन्छन् । समस्या यहिनेर छ ।’

जनार्दन र वर्षमानबीचको टसलको फाइदा प्रचण्डले उठाएको नेताहरु बताउँछन् ।

पार्टीमा अध्यक्ष प्रचण्डले दुवैले आफू अनुकूल प्रयोग गरेको नेताहरु बताउँछन् । ०६४ को निर्वाचनमा माओवादीका अधिकांश नेताहरु हारेनन् । माओवादी संविधान सभाको ठुलो दल बन्यो ।

तर, ०७० मा भएको दोस्रो संविधान सभाको निर्वाचनमा माओवादी तेस्रो पार्टी बन्न पुग्यो । शर्मा रूकुमबाट निर्वाचित भए तर मोरङबाट उमेदवार बनेका पुन भने पराजित बने ।

पराजित भएपछि उनी केही कमजोर देखिए ।

वर्षमान ०६७ माघ २३ मा झलनाथ खनालको नेतृत्वमा गठन भएको सरकारमा शान्ति तथा पुनर्निर्माण मन्त्रीको रूपमा सहभागी थिए । त्यस्तै ०६८ भदौ १२ मा गठित डा. बाबुराम भट्टराईको नेतृत्वको सरकारमा अर्थमन्त्री बने ।

पार्टी तेस्रो हैसियतमा पुग्दा लोकप्रिय मतले आफु र तत्कालीन कर्णाली प्रदेशमा बलियो पार्टी बनाएका जनार्दनले आफुलाई प्रचण्डको उत्तराधिकाका रुपमा प्रस्तुत गर्न खोजेको नेताहरु बताउँछन् । त्यो कुरा प्रचण्डलाई मन परेन ।

०७३ सालमा प्रचण्ड दोस्रो कार्यकालका लागि प्रधानमन्त्री बन्दा शर्मा ऊर्जा मन्त्री भए ।  उनकै कार्यकालमा लोडसेडिङको अन्त्य भएपछि शर्माको चर्चा चुलियो ।

उनले आफुलाई उज्यालो नेपालको नायकको रुपमा प्रस्तुत गर्न खोजेको कुरा प्रचण्डलाई मन नपरेपछि साइजमा ल्याउन वर्षमानलाई अगाडी सारेको नेताहरु बताउँछन् ।

०७४ मा पार्टीको भ्रातृ संगठन अखिल क्रान्तिकारीको नेतृत्व चयन भयो । सहमतीमा नेतृत्व चयन नभएपछि जनार्दनका भाई अनिल शर्मा र वर्षमान निकट मानिएका रञ्जित तामाङ निर्वाचनमा भिडे । प्रचण्डले रञ्जितको साथ दिए । अनिल हारे ।

शर्माका भाइलाई हराउन अध्यक्ष प्रचण्डले पुनलाई साथ दिए ।

त्यसपछि शर्मा शेरबहादुर देउवा नेतृत्वको सरकारमा गृहमन्त्री बने ।

पुन माओवादी र एमालेबीच एकता भएर बनेको नेकपाको सरकारमा ऊर्जामन्त्री बने । शर्मा फेरि दउवा सरकारकै अर्थमन्त्री बने । अर्थमन्त्रीमा उनको कार्यकाल विवादीत बन्यो ।

पछिल्लो समय शर्माको तुलनामा पुन पार्टीमा उनी अघि छन् ।

पार्टीमा दुईमध्ये एकअर्काबीच प्रचण्डको नजिक बन्ने प्रतिष्पर्धा चलिरहेकै छ । तर पछिल्ला विवादले शर्मा एक्लो पर्न थालेका छन् ।

नारायणकाजी र वर्षमानको समिकरण

पार्टीकै नेताहरुका अनुसार पछिल्लो समय पार्टीभित्र वरिष्ठ उपाध्यक्ष श्रेष्ठ र उपमहासचिव पुन नजिकिदै गएको चर्चा चल्न थालेको छ ।

दुई नेता पछिल्लो समय नजिकिदै गएको बताइएको छ ।

उनीनिकट नेताहरु नै नारायणकाजी र वर्षमानको समिकरण बनेको बताउँदै हिडेका छन् ।

अहिले श्रेष्ठ उपप्रधान तथा परराष्ट्रमन्त्री छन् भने वर्षमान अर्थमन्त्री छन् । पार्टीभित्र दुवै नेतालाई चीननिकट भएको आरोप लाग्दै आएको छ । प्रचण्डले पनि पछिल्लो समय हरेक ठुला निर्णय गर्दा श्रेष्ठ र पुनलाई नै सोध्ने गरेको बताइन्छ ।

 

प्रतिक्रिया