विश्वकपः ओमानमाथि इङ्ल्याण्डको शानदार जित, बंगलादेश विजयी


काठमाडौं – आईसीसी टी–२० विश्वकपमा ओमानमाथि ऐतिहासिक ३.१ ओभरमा ८ विकेटको जित निकाल्दै इंग्ल्याण्डले विश्वकपको सुपर ८ पुग्ने सम्भावना जीवितै राखेको छ।

शुक्रबार बिहान भएको खेलमा ओमानले दिएको ४८ रनको लक्ष्य इंग्ल्याण्डले ८ विकेटको क्षतिमा ३।१ ओभरमा भेट्टाएको हो। विश्वकप इतिहासमा यो ऐतिहासिक जित हो।

ओमानले दिएको ४८ रनको लक्ष्य पछ्याएको इंग्ल्याण्डका लागि कप्तान जोस बट्लरले नटआउट ८ बलमा चार चौका र एक छक्काको मद्दतमा २४ रन बनाए।

सुरुको दुई बलमा छक्का प्रहार गरेका फिल साल्ट ३ बलमा १२ रन जोडेर आउट भए। विल ज्याक्सले ७ बलको सामना गर्दै ५ रन जोडे भने जोनी बेयर्स्टो ८ रनमा नटआउट रहे।

पहिले ब्याटिङ गरेको ओमान १३।२ ओभर खेल्दै ४७ रनमा अलआउट भएको थियो। उसका लागि सोएब खानले २३ बलमा ११ रन जोड्नुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अङ्कमा रन जोड्न सकेनन्।

इंग्ल्यान्डका लागि आदिल रसिदले ४ ओभर बलिङ गर्दै ११ रन खर्चिएर ४ विकेट लिए। जोफ्रा आर्चर र मार्क वुडले तीनतीन विकेट लिए। उनीहरुले १२–१२ रन खर्चिएका थिए।

समूह ‘सी’मा रहेको इंग्ल्याण्डको यो पहिलो जित हो। नेट रनरेट राम्रो बनाएको उसले यो जितसँगै ३ अंक जोडेको छ।

सुपर ८ मा पुग्न अब इंग्ल्यान्डले अर्को एक खेलमा नामिबियालाई पराजित गरेर मात्र हुँदैन ५ अंकसहित दोस्रो स्थानमा रहेको स्कटल्याण्ड सुपर ८ पुगिसकेको शीर्ष स्थानको अस्ट्रेलियासँग पराजित हुनुपर्छ। तेस्रो स्थानमा रहेको नामिबियाले तीन खेल खेल्दा दुई अंक जोडेको छ।

समूह चरणको अन्तिम खेल खेलेको ओमान बिना अंक विश्वकपबाट बाहिरिएको छ।

नेदरल्यान्ड्समाथि बंगलादेश २५ रनले विजयी
त्यस्तै नेदरल्यान्ड्समाथि २५ रनले विजयी हुँदै बंगलादेशले विश्वकपको सुपर ८ पुग्ने सम्भावना बलियो बनाएको छ।

समूह ‘डी’को बंगलादेशको यो दोस्रो जित हो। उसले यो जितसँगै चार अङ्क बनाएको छ। नेदरल्यान्ड्सले भने मात्र दुई अङ्क बनाएको छ। यो समूहको शीर्ष स्थानमा रहेको दक्षिण अफ्रिका ६ अंकसहित सुपर ८ प्रवेश गरिसकेको छ। यो समूहमा रहेको नेपाल र श्रीलंकाले भने समान एकएक अंक जोडेका छन्।

बिहीबार राति बंगलादेशले दिएको १६० रनको चुनौती पछ्याएको नेदरल्यान्ड्स २० ओभर खेल्दै ८ विकेटको क्षतिमा १३४ रनमा समेटिएको हो।

सुरुमा ब्याटिङ गरेको बंगलादेशका लागि शकिब अल हसनले अर्धशतक प्रहार गरे। ४६ बलको सामना गरेका हसनले ९ चौकासहित नटआउट ६४ रन बनाए।

त्यस्तै तान्जिद हसनले २६ बलमा पाँच चौका र एक छक्कासहित ३४ रनको योगदान दिए। महमुदुल्लाहले २५ रन बनाउँदा जाकर अलीले १४ रन बनाए।

नेदरल्याण्डसका लागि आर्यन दत्त र पॉल भ्यान मिकरेनले दुईदुई विकेट लिए।

१६० रनको लक्ष्य पाएको नेदरल्यान्ड्सका लागि साइब्रान्ड एन्जलबर्चले सर्वाधिक ३३ रन जोडे। विक्रमजित सिंहले १६ बलमा २६ रन बनाए भने कप्तान स्कट एडवड्र्सले २३ बलमा २५ रनको योगदान दिए। माइकल लेभिटले १८, आर्यन दत्तले १५ रन जोड्दा म्याक्स ओ डाउडले १२ रन बनाए।

बंगलादेशका लागि रिसाद होसेनले तीन विकेट हात पारे। अब बंगलादेशले समूह चरणको अन्तिम खेल नेपालसँग खेल्नेछ।

प्रतिक्रिया