अमेरिकामा नेपाली टोलीलाई मौसमको अर्को ‘धोका’, उडान नहुँदा वेस्टइन्डिज जान ढिलाई, सन्दीप कुरेको कुर्यै


काठमाडौं – अमेरिकाको फ्लोरिडामा नेपाली टोलीलाई मौसमले अर्को धोका दिएको छ ।

विश्वकपमा नेपाल र श्रीलंकाबीचको खेल पनि वर्षाकै कारण रद्ध भएको फ्लोरिडाबाट वेस्ट इन्डिज जाने नेपाली टोली फेरि मौसमकै कारण रोकिएको छ ।

समूह चरणमा बंगलादेश र दक्षिण अफ्रिकासँगका खेल खेल्नका लागि नेपाली टिम बुधबार नै वेस्टइन्डिज प्रस्थान गर्ने तालिका रहे पनि खराब मौसमका कारण नेपाली टिम अमेरिकामा नै रोकिएको जनाइएको छ ।

अहिले पनि फ्लोरिडाको मौसम अत्यन्त खराब रहेकाले अधिकांश हवाई उडानहरू रद्द भएका छन् । मंगलबारदेखिको झरी बुधवार पनि कायम रह्यो भने बिहीबार पनि मौसम खराब हुने भन्दै त्यहाँको राष्ट्रिय मौसम विभागले अलर्ट (सूचना) जारी गरेको छ ।

जसका कारण फोर्ट लाउडरडेल हलिउड अन्तर्राष्ट्रिय एयरपोर्ट र मायमी अन्तर्राष्ट्रिय एयरपोर्टका नियमित उडान प्रभावित भएका हुन् । मौसम विभागले बाढीको जोखिम रहेको भन्दै घरभन्दा बाहिर ननिस्कन सबैलाई आग्रह गरेको छ । नेपालले जुन १५ मा दक्षिण अफ्रिकासँग खेल्ने तालिका रहेको छ ।

पहिलो खेलमा नेदरल्याण्ड्ससँग पराजित भएको नेपाल दोस्रो खेल वर्षाका कारण रद्द हुँदा श्रीलङ्कासँग एक एक अंक बाँडेको थियो ।

वेस्टइन्डिजमा स्टार लेगस्पिनर सन्दीप लामिछानेले नेपाली टोलीलाई पर्खिएका छन् । अमेरिका जान नपाएका सन्दीपले वेस्टइन्डिजमा दक्षिण अफ्रिका र बंगलादेशविरुद्धको खेल भने खेल्ने छन् ।

प्रतिक्रिया