टि–२० क्रिकेटमा अर्को विश्वकिर्तीमान नजिक सन्दीप लामिछाने


काठमाडौं – नेपालका स्टार लेगस्पिनर सन्दीप लामिछाने टि–२० अन्तराष्ट्रिय क्रिकेटमा विश्वकिर्तीमान नजिक छन् ।

उनलाई सबैभन्दा कम म्याचमा १०० टि–२० विकेट लिदै अफगानिस्तानका स्टार बलर रासिद खानको विश्वकिर्तीमान बराबर गर्ने मौका जुरेको छ ।

रासिदले टि–२० अन्तराष्ट्रियमा ५३ इनिङमा १०० विकेट लिएर सबैभन्दा छिटो सय विकेट लिने किर्तीमान आफ्नो नाममा लेखाएका छन् ।

नेपालका सन्दीपले हालसम्म ५२ टि–२० अन्तराष्ट्रिय खेलमा ९८ विकेट लिएका छन् । नेपालको आगामी खेल दक्षिण अफ्रिकासँग वेष्टइन्डीजमा हुनेछ । जारी आइसीसी टि–२० विश्वकपमा दक्षिण अफ्रिकाविरुद्धको खेल सन्दीपको ५३ औं टि–२० अन्तराष्ट्रिय खेल हुनेछ । सो खेलमा सन्दीपले २ विकेट लिए उनले रासिद खानसँगै विश्वकिर्तीमानमा बराबरी गर्नेछन् ।

यसअघि सबैभन्दा कम खेलमा एकदिवसीय क्रिकेटमा पनि १०० विकेट लिने विश्वकिर्तीमान सन्दीपकै नाममा छ ।

उनको ४४ म्याचमा १०० विकेट लिएका रसिद खानको रेकर्ड तोडेका थिए । सन्दीपले ४२ म्याचमा एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा १०० विकेट लिएका थिए ।

सन्दीपसँग वेष्टइन्डीजमा क्यारेबियन प्रिमियर लिग खेलेको अनुभव छ । जहाँ सन्दीपले आफ्नो बलिङको जादु देखाउने नेपाली समर्थकको विश्वास छ ।

सन्दीपको प्रर्दशनले नेपाली टोलीको जित हारमा ठुलो असर गर्नेछ । नेपालले वेष्टइन्डीजमा पहिलो खेल दक्षिण अफ्रिका र समुह चरणको अन्तिम खेल बङ्लादेशसँग खेल्नेछ ।

दुवै खेलमा जित निकाल्न सके नेपाल सुपर–८ मा प्रवेश गर्नेछ ।

सन्दीप वेष्टइन्डीज पुगिसकेका छन् ।

प्रतिक्रिया