
आचरण विपरीत क्रियाकलाप गर्ने क्याप्टेन विजयमाथि के गर्दैछ क्यान ?
काठमाडौं– नेपाल वायुसेवा निगमका वरिष्ठ पाइलट विजय लामा र भावना पन्तलाई नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले उडानमा प्रतिबन्ध लगाएको थियो ।
क्यानले हवाई सुरक्षामा असर पर्ने काम गरेको भन्दै वाइडबडी ‘ए ३३०’ का वरिष्ठ पाइलट विजय लामा र ‘एयरबस ३२०’ की भावना पन्तलाई जेठ २१ गते निलम्बन (ग्राउन्डेड) गरेको थियो ।
त्यसपछि दुवैमाथि अनुसन्धान अगाडि बढाएको क्यानले भावना पन्तमाथिको निलम्बन भने फुकुवा गरिसकेको छ । छानबिनका क्रममा पन्त दोषी नदेखिएपछि उडान निलम्बन फुकुवा गरिएको क्यानका प्रवक्ता हंशराज पाण्डेले जानकारी दिए । पन्तले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको निषेधित क्षेत्रमा गएर टेलिभिजन च्यानललाई अन्तर्वार्ता दिएको भन्दै उजुरी परेको थियो ।
पन्तको निलम्बन फुकुवा हुँदा क्याप्टेन विजय लामामाथि भने अनुसन्धान जारी नै रहेको छ । प्रवक्ता पाण्डेका अनुसार एक/दुई दिनमै अनुसन्धान सक्काएर तीन सदस्यीय छानबिन समितिले प्रतिवेदन बुझाउने छन् । प्रतिवेदनकै आधारमा लामामाथिको कारबाही प्रक्रिया अगाडि बढाइने उनको भनाई छ ।
तर, अनुसन्धानमा संलग्न एक अधिकारीका अनुसार क्याप्टेन लामामाथिको आरोप पुष्टि भएको छ । सोहीकारण उनीमाथि कारबाही हुने पक्कापक्की भएको छ । लामाले पटकपटक प्राधिकरणको सुरक्षा प्रावधान उल्लंघन गर्दै आएको पाइएपछि नागरिक उड्डयन प्राधिकरण ऐन २०५३ को दफा (२५) बमोजिम कारबाही गर्ने तयार भइरहेको ती अधिकारीले बताए ।
लामाविरुद्ध आचरण विपरीत निषेधित क्षेत्र(ककपिटको अगाडी) फोटो तथा भिडियो खिचेर सामाजिक सञ्जालमा पोष्ट गरेको गरेको भन्दै उजुरी परेको थियो । लामा केही वर्षअघि पनि कारबाहीमा परेका पाइलट हुन् । प्रशिक्षक समेत रहेका उनी २०७६ सालमा निलम्बित भएका थिए । उड्डयन सुरक्षामा गम्भीर असर पर्ने किसिमका अभिव्यक्ति दिएकाले उनीलाई विमान उडाउन रोक लगाइएको थियो ।
यो पनि:
क्याप्टेन विजय र भावनाविरुद्ध कस्तो उजुरी परेको हो ? के हुन्छ कारबाही ?



कागजपत्र |
