छिपछिपे सहकारी घोटालाका ७ आरोपित कारागार चलान


काठमाडौँ – कावासोतीस्थित छिपछिपे सहकारी संस्थामा भएको १६ करोड ५८ लाख घोटालाका आरोपित ७ जनालाई सोमवार कारागार चलान गरिएको छ ।

अदालतको आदेशपछि प्रहरी हिरासतमा रहेका उनीहरूलाई भरतपुर कारागार पठाएको हो ।

पूर्वी नवलपरासी प्रहरीका अनुसार अदालतको आदेश अनुसार पुर्पक्षका लागि थुनामा राख्न पर्ने ७ जनालाई सोमवार बिहान भरतपुर कारागार चलान गरिएको हो ।

पूर्वी नवलपरासीमा कारागार नभएका कारण उनीहरूलाई छिमेकी जिल्ला चितवनको भरतपुर कारागार पठाइएको हो । जिल्ला विभाजनपछि पूर्वी नवलपरासीमा कारागार छैन । यहाँका थुनुवालाई नजिकको चितवन कारागार पठाउने गरिएको छ ।

न्यायाधीश कुलप्रसाद पाण्डेको इजलासले उनीहरूलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो । सहकारीको रकम हिनामिना गरेको अभियोगमा पक्राउ परेका व्यवस्थापक योगेन्द्र पाण्डे, नगेन्द्र बहादुर रिमाल, संजिवकुमार महतो, कृष्ण प्रसाद ज्ञवाली, ढुण्डिराज गौतम, विकास सापकोटा र शिवलाल लामिछानेलाई कारागार चलान गरिएको हो ।

उनीहरू रकम हिनामिनाको आरोपमा २ महिना अघि पक्राउ परेका हुन् । सहकारीको रकम हिनामिनाको अभियोगमा प्रहरीले विपक्षी बनाएर मुद्दा दायर गरेका हालका अध्यक्ष गोपीकृष्ण शर्मा, सुनिता कुमारी न्यौपाने जनही २ लाख ५० हजार धरौटीमा छुटेका छन् । त्यसैगरी तीर्थराज कैनीले १० लाख धरौटी बुझाएका छन् ।

प्रतिक्रिया