प्रहरीकाे जागिर छाडेर कोरिया, गएको हप्ता दिनमै देहान्त


काठमाडाैं- जाजरकोटको छेडागाड नगरपालिकाको वडा नम्बर ३ । त्यहि जन्मेका थिए हरिचन्द्र अधिकारी । परिवारको न्यून आर्थिक अवस्थाका कारण उनी केही गर्नुपर्छ भनेर ५ वर्षअघि काठमाडौं हानिए ।

काठमाडौं आएर उनी वैदेशिक रोजगारीको लागि बाहिर जाने प्रयासमा लागे । अन्य देश जान धेरै खर्च लाग्ने भएकाले उनले दक्षिण कोरिया रोजगार अनुमति प्रणाली (इपिएस) परीक्षाको तयारी गरे ।

त्यस क्रममा उनले २०७६ सालमा परीक्षा दिने प्रयास गरे । तर उमेर नपुगेकाले उनी परीक्षा दिनबाट वञ्चित भएका थिए । त्यसपछि पुनः प्रयास गर्दै गर्ने अठोटका साथ घरखर्च चलाउन उनी नेपाल प्रहरीमा भर्ना भए । २०७८ सालमा उनले कर्णाली प्रदेश तालिम केन्द्र, सुर्खेतबाट तालिम लिएका थिए । प्रहरीको जागिर खाइसकेपछि उनले बिहे पनि गरे । त्यसपछि उनी कालिकोटमा कार्यरत थिए ।

तर, प्रहरी जवानकै जागिरबाट घरखर्च चलाउन उनीलाई धौधौ भयो । त्यसैमा छोरी पनि जन्मिसकेपछि उनीमाथि झनै जिम्मेवारी बढ्यो । त्यसकारण उनले पहिलेको सपना कोरिया नै जाने निधो गरे । त्यसका लागि पुनः इपिएसको परीक्षाको तयारी गरे । निकै मेहनत गरेका उनले २०७९ मा उक्त परीक्षा पास गरे पनि । पालो पर्खदापर्खदै २ वर्षपछि प्रहरीको जागिर छाडेर यहि जेठ १४ गते उनी कोरियातर्फ उडे ।

उनीलाई बिदा गर्न गाउँबाट बुवा लक्षिराम जैसी र आमा लीलासहितका आफन्त त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए । आमाबुवासँग विदा भएर परिवारको सपना पूरा गर्न उनी दक्षिण कोरियास्थित मिर्याङ्ग पुगेका थिए । तर, उता पुगेर काम थालेको ३ दिनमै उनी बिरामी परे । त्यसको ३ दिनमै उनले संसार छाडे । उमेरले २५ मात्रै पुगेका उनको मृत्युले परिवारमा ठूलो बज्रपात परेको छ । २ वर्षीया काखे छोरी बोकेर श्रीमान् आउने पर्खाइमा रहेकी श्रीमती प्रतिक्षाको सिउँदो पनि कलिलै उमेरमा पुछिएको छ ।

‘बुवाको जुत्ता, आमाको चोली, घरको छानो, श्रीमतीको साडी र छोरीको भविष्य बदल्न जन्मभूमिलाई छोडेर कोरिया उडेको थियो भाई, तर दैवको लीला अपरम्पार छ’ नातामा उनका दाई पर्ने विष्णु अधिकारी भन्छन्, ‘सबैका ओठको मुस्कान एकाएक हरायो, अकल्पनीय घटना घट्यो ।’

न्यून पारिश्रमिक र घरपरिवारको ठूलो जिम्मेवारीले प्रहरीको सेवामा टिक्न नसकेर विदेश गएका उनी यो संसारमै टिक्न सकेनन् ।

गएको एक हप्तामै दाईको मृत्युको खबरले बिहे गरेर गइसकेकी ज्ञानु अधिकारी न्यौपाने पनि स्तब्ध भएकी छिन् । ‘भगवान कोरिया पुगेको हप्ता दिन नपुग्दै हाम्रो घरको खुसी खोसिस्, मेरो दाइलाई सधै खुसी राखेस्’ उनले सामाजिक सञ्जालमा लेखेकी छिन् ।

हरिचन्द्रको मृत्युको खबरले कोरियास्थित नेपाली समुदायमा पनि सन्नाटा छाएको छ । अहिले उनको शव नेपाल पठाउन त्यहाँ रहेका नेपालीले आर्थिक संकलन गरिरहेका छन् ।

 

 

प्रतिक्रिया