श्रीलंका बाङ्लादेशसँग पराजित, मंगलबार नेपालसँग खेल्ने


काठमाडौं- आईसीसी टी-२० विश्वकपमा नेपालको समूहमा रहेको श्रीलंका दोस्रो खेलमा पनि पराजित भएको छ ।

शनिबार बिहान भएको खेलमा बाङ्लादेशले श्रीलंकालाई दुई विकेटले पराजित गरेको हो। श्रीलंकाले दिएको १२५ रनको लक्ष्य बाङ्लादेशले १९ ओभरमा आठ विकेट गुमाएर पूरा गरेको हो ।

बाङ्लादेशका लागि टउहिड हृदयले ४०, लिन्टन दासले ३६ र महमुदुल्लाहले १६ रन बनाए । अन्य खेलाडीले भने राम्रो प्रदर्शन गर्न सकेनन् ।

श्रीलंकाका लागि नुवान तुशाराले चार, वानिन्दु हसरंगाले दुई, धनन्धजय डिसिल्भा र माथिसा पाथिरानाले एक विकेट लिए ।

यसअघि ब्याटिङ गरेको श्रीलंकाले नौ विकेटको क्षतिमा १२४ रन बनाएको थियो। श्रीलंकाका लागि पथुम निशंकाले ४७, धनन्जय डिसिल्भाले २१, चरिथ असलंकाले १९ र एन्जेलो म्याथ्युजले १६ रन बनाए। अन्य खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन् ।

बाङ्लादेशका लागि मुस्ताफिजुर रहमान र रिशद हुसैनले तीन-तीन, तस्किन अहम्दले दुई र तन्जिम हशन सकिबले एक विकेट लिए ।

यो पराजयसँग श्रीलंकाको ‘सुपर-८’ यात्रा कठिन बनेको छ । यसअघि श्रीलंका दक्षिण अफ्रिकासँग पराजित भएको थियो। अब अर्को खेल मंगलबार बिहान ५ः१५ बजे नेपाल र श्रीलंकाबीच हुनेछ ।

 

प्रतिक्रिया