एमालेसँग नीतिको बहस गर्न कुनै पार्टी पनि आउँदैन : ओली


काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेसँग नीति र देश बनाउने योजनाको विषयमा बहस गर्न कुनै पार्टी तयार नभएको बताएका छन् ।

एमाले ११ औँ जिल्ला अधिवेशनबाट निर्वाचित पदाधिकारीको शपथ समारोहलाई सम्बोधन गर्दै अन्य एमालेबाहेक अन्य पार्टीसँग पार्टीसँग नीति, कार्यक्रम र योजना केही नभएको जिकिर गरे ।

उनले भने, ’हामीसँग नीतिको बहस गर्न कुनै पार्टी पनि आउँदैन । हाम्रो पार्टीमा देश कसरी बनाउने भन्ने विषयमा बहस गर्न कुनै पार्टी तयार छैन । उनीहरूसँग नीति, कार्यक्रम र योजना केही छैन । राष्ट्रियताको बारेमा बहस गर्न कोही तयार छैन। सुशासनको बारेमा तयार छैन ।’

उनले एमाले र अरु पार्टी उस्तै हुन् भनेर कुप्रचार गरेको बताए । उनले भने, ‘अरु पार्टी र हामी उस्तैउस्तै होइन। पार्टी त पार्टी हुन् तर फरक देश र जनताप्रति समर्पित हुनुपर्छ । कतिपय देश बनाउन होइन पद पाउँला भनेर प्रवेश गरेका छन् । पार्टीका काम गर्नुपर्छ बस्नुपर्छ पद पाएर भनेर अरुपनि पार्टी छन् भन्ने कहिलेकाहीँ सुनिन्छन् । त्यति साह्रो देशको माया नभएकाहरूप्रति एमालेको कुनै आश र लोभ छैन ।’

उनले एमालेका अगाडि धेरै ठूला चुनौती रहेको बताए । उनले थपे, ‘हाम्रा अगाडि चुनौतीहरू छन् । घेराबन्दी छ । तर, हामीसँग घेराबन्दी तोड्ने अभ्यास छ । षड्यन्त्रका जालाहरू च्यात्ने अभ्यास छ । हाम्रोविरुद्ध विभिन्न कुप्रचारहरु चलाइन्छ ।’

उनले पार्टीविरुद्धको कुप्रचारको प्रतिवाद गरेर निर्णायक राष्ट्रिय शक्ति निर्माण गर्नको लागि मिसन ०८४ को अभियानमा लाग्न निर्देशन दिए ।

प्रतिक्रिया