नेवानि अध्यक्ष अधिकारीमाथि अनुसन्धान हुँदै, जहाज मर्मतको ठेक्कामा अनियमितता !


काठमाडौं– नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीसहितका कर्मचारीमाथि अनुसन्धान भइरहेको छ । वाइडवडी जहाजको मर्मतका लागि ‘एमआरओ’ गर्न ढिलोगरि बोलपत्र आव्हान गर्ने गरेको भन्दै उजुरी परेपछि उनीसहित उपेन्द्र पौडेलमाथि नेपाल नागरिक उड्डयन प्राधिकरणले अनुसन्धान गरिरहेको हो ।

उनीहरुले सार्वजनिक खरिद ऐनलाई लत्याउँदै बंगलादेशी एजेन्टको कम्पनीसँग साँठगाँठ गरेर अन्तिम समयमा टेन्डर खोल्ने गरेको भन्दै अर्थ मन्त्रालयमा उजुरी परेको थियो । उजुरीपछि अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाले नेपाल नागरिक उड्ययन प्राधिकरणलाई पत्र लेखेको थियो ।

महाशाखाले जेठ २ गते पठाएको पत्रमा उजुरीको व्यहोराका आधारमा कारबाही गरेर मन्त्रालयमा जानकारी गराउन भनेको छ ।

अहिले सोही उजुरीमाथि अनुसन्धान भइरहेको प्राधिकरणका प्रवक्ता हशंराज पाण्डेले जानकारी दिए । ‘जहाजको मर्मतसम्भार समयमै हुनुपर्छ । मापदण्ड अनुसार उहाँहरुले समयै काम गर्नुभएको छ कि छैन भनेर हाम्रो चासो गएको छ’ उनले भने, ‘मर्मतका लागि समयमै प्रक्रिया नचाल्ने तथा अन्तिम समयमा आएर पहल गर्ने प्रश्न आएको छ । त्यो विषयमा हाम्रा ‘सेप्टी इन्स्पेक्टरहरुले अनुसन्धान गर्दै हुनुहुन्छ । त्यो छानविनको क्रममा छ ।’

छानविनबाट दोषी पाइएमा उनीहरुमाथि कारबाही प्रक्रिया अगाडि बढाइने प्रवक्ता पाण्डेले बताए ।

नेवानिका कर्मचारीसँगै साँठगाँठ गर्ने एक बंगलादेशी एजेन्टको कम्पनीलाई विमान मर्मतको ठेक्का दिने सेटिङ भइरहेको भन्ने उजुरी अर्थ मन्त्रालयमा परेको थियो ।

हाल वायु सेवा निगमका अध्यक्ष रहेका अधिकारी, तत्कालीन खरिद अधिकृत उपेन्द्र पौडेल र एक कर्मचारी पोशक ज्ञवालीले पहिले पनि ‘एआइए’ नामक कम्पनीसँग मिलेर मर्मतको नाममा करोडौं कमिसन खाएको उजुरीमा उल्लेख छ । विमानको पाटपूर्जा मर्मत गर्दा वास्तविकभन्दा ४ गुणा बढीको कोटेशन पठाएर यी तीनजनाले घोटाला गरेको भन्दै कुरा बाहिर आएको थियो ।

उनीहरुले सस्तोमा नभएर महंगोमा मर्मत गर्ने कम्पनीलाई ठेक्का दिने चलखेल गर्ने गरेको उजुरीमा उल्लेख छ ।
अध्यक्ष युवराज अधिकारीले भने आफूमाथि कारबाही गरे संसदीय समितिलाई पनि किनिसकेको र अख्तियार दुरुपयोग अनुसन्धानका आयुक्त किशोर कुमार सिलवाल आफ्नै मान्छे भएकाले प्रधिकरणका महानिर्देशकको फाइल खोलिदिने भन्दै धम्की दिने गरेको पनि बताइएको छ ।

यो पनि:
वायु सेवा निगमलाई धराशायी बनाउँदै युवराज अधिकारी, जहाज मर्मतमा यसरी हुन्छ घोटाला

प्रतिक्रिया