मन्त्रालयका कर्मचारीको व्यवहारले दिक्क बनाए : कृषिमन्त्री साह


काठमाडौं – कृषि तथा पशुपंक्षी विकासमन्त्री ज्वालाकुमारी साहले मातहतका कर्मचारीको व्यवहार देखेर आफूलाई दिक्क लाग्ने गरेको गुनासो गरेकी छिन् ।

उनले कर्मचारीहरुबीच एकले अर्कालाई आपेक्षा मात्रै लगाउने गरेको पाइएको उल्लेख गर्दै त्यसो नगर्न पनि सचेत गराएकी छन् ।

विश्व खाद्य स्वच्छता दिवसका अवसरमा उनले मन्त्रालयलाई नमूनायोग्य मन्त्रालयको रुपमा विकास गर्नेगरी काम गर्न पनि मातहतका कर्मचारीलाई निर्देशन दिइन् । कुनै बद्नामी नहुने गरी कर्मचारीहरुले काम गर्नुपर्ने मन्त्री साहको भनाई थियो ।

उनले कर्मचारीहरुले आफू कार्यरत निकायमा बदनामी हुने खालको कुनै पनि गतिविधि गर्न नहुने जिकिर गरिन् ।

‘हाम्रो मन्त्रालय एउटा नमूना मन्त्रालय हो । त्यो खालको सन्देश हामीले दिनु पर्छ । हामी हामीमा नै फलाना खत्तम, ऊ खत्तम । मैले यो भन्दा अरु सुनेकै छैन मन्त्रालयमा । प्रगतिको कुरा सुनेकै छैन । यो फलानालाई बनाउनु हुँदैन है, खराब छ । अर्को आयो, त्यो खराब छ भन्छ । ए बाबा, कति सुन्नु यस्ता गुनासाहरु ? सुन्दासुन्दै दिक्क, वाक्क लाग्छ’, उनले भनिन् । मन्त्री साहले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले आफ्नो परीक्षणको कामलाई प्रभावकारी बनाउनु पर्नेमा जोड दिइन् ।

प्रतिक्रिया