नेपाल पक्षको भेलामा सहभागी नहुन प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीको आह्वान


काठमाडौं– प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाल पक्षको राष्ट्रिय भेलामा सहभागी नहुनका लागि नेता कार्यकर्तालाई आह्वान गरेका छन्।

बुधबार र विहीबारका लागि नेपाल पक्षले राष्ट्रिय कार्यकर्ता भेला गर्ने विषयलाई लक्षित गरी प्रधानमन्त्री ओलीले यस्तो आह्वान गरेका हुन्।

७ चैतका केन्द्रीय कमिटीको बैठक डाकेको जानकारी दिँदै बालुवाटारमा मंगलबार चियापान कार्यक्रम गर्दै प्रधानमन्त्री ओलीले भने,‘कुनै गुटगत भेलामा उपस्थित नहुनुहोला, पार्टीले सबैलाई न्याय गर्नेछ।’

उनले सत्यसँग नलड्ने र निहुँ खोजाहासँग नझुक्ने नीतिमा आफू रहेको बताउँदै भने,‘पार्टीले, पार्टी अध्यक्षले बोलाएको चियापानमा एकथरी अनुहार भएका मानिस उपस्थित भएका छैनन्। कसले बोलाएकोमा जानुहुन्छ? सबैलाई थाहा छ अरु नभनौं।’

उनले अहिले प्रतिनिधि सभा पुनःस्थापनापछि राजनीतिक दलहरूको गतिविधिले विघटन गरिएको प्रतिनिधि सभाको औचित्य पुष्टि हुने प्रधानमन्त्री ओलीको दाबी छ।

उनले भने,‘हामीले खोजेको एनार्किजम होइन, आफ्ना असन्तुष्टि पूरा गर्न मनपरी गर्ने छुट कसैलाई पनि छैन। कानुनका नजरमा सबै समान छन्।’ उनले पार्टीको नियम र विधिअनुसार नचलेको खण्डमा नेपाल पक्षको गतिविधि सहेर बस्न नसक्ने पनि बताए।

प्रतिक्रिया