बंगलादेशी सांसदको हत्याका मुख्य आरोपी पक्राउ परेपछि ढाका प्रहरीका जासुस नेपालमा


काठमाडौं– बंगलादेशका सांसद अनवारुल अजिम अनारको हत्याका मुख्य आरोपी नेपालबाट पक्राउ परेपछि ढाका महानगरीय प्रहरीको जासूसी शाखा(डिबी)को टोली नेपाल आएको छ ।

हत्याका आरोपी सियाम हुसेन काठमाडौंमा पक्राउ परेको खबरपछि को ४ सदस्यीय डीबीको टिम हिजो(शनिबार) नै नेपालतर्फ आएको बुझिएको छ ।

नेपाल आउनुअघि हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलन गर्दै डीबीका चिफ हारुनोर रशिदले अन्य आरोपी पनि नेपालमै लुकेको हुनसक्ने आशंका भएपछि अनुसन्धान गर्न टोली जान लागेको बताएका थिए ।

उनले नेपालको रुट प्रयोग गरेर आरोपीहरु अन्य देश भाग्न सक्ने आशंका व्यक्त गरेका थिए । उनले नेपाल प्रहरीसँग समन्वय गरेर नै अन्य आरोपी समात्न अपरेशन चलाउने जानकारी दिए ।

यसअघि नै इन्टरपोललाई पत्र दिएर सियाम र अन्य संदिग्धहरु नेपाल वा अन्य देशमा रहेको जानकारी गराइसकेको गुप्तचर टोलीको नेतृत्व गरिरहेका हारुनले बताए ।

उपचारका लागि मे १२ मा भारत पुगेका सांसद अनार भोलिपल्टदेखि नै सम्पर्कविहीन बनेका थिए । मे २२ मा बंगलादेश सरकारले उनको मृत्युको पुष्टि गरेको थियो । उनी कोलकातामा मृत फेला परेका थिए । उनको शव टुक्रा टुक्रा गरेर तालमा फालिएको अनुसन्धानमा खुलेको थियो ।

अजिम अनारले अवामी लिग पार्टीबाट लगातार तीन कार्यकाल जितेका थिए ।

 

प्रतिक्रिया