टी-२० विश्वकप आजदेखि, उद्घाटन खेलमा अमेरिकाविरूद्ध ब्याटिङ गर्दै क्यानडा


काठमाडौं – आईसीसी टी-२० विश्वकप क्रिकेट प्रतियोगिताको पहिलो खेलमा आइतबार बिहान आयोजक अमेरिका र क्यानडा भिड्दै छन् ।

टी-२० विश्वकपको नवौँ संस्करणको पहिलो खेल आइतबार बिहान सुरु हुन लागेका हुन् । यो खेल आइतबार बिहान ६: १५ बजे अमेरिकाको डालासमा हुँदैछ । पहिलो खेलमा टस जितेर अमेरिकाले क्यानडालाई ब्याटिङको निम्तो दिएको छ ।

आइतबार नै दोस्रो खेलमा अर्को आयोजक राष्ट्र वेस्ट इन्डिज र पपुवा न्यु गिनी (पीएसजी)ले प्रतिस्पर्धा गर्दैछन् । नेपाली समय अनुसार दोस्रो खेल साँझ ८:१५ बजे सुरु हुनेछ । आजदेखि विश्वकपका खेल सुरु भए पनि नेपालले मंगलबार मात्र पहिलो खेल खेल्नेछ ।

नेपालले जेठ २२ गते मंगलबार नेदरल्यान्डसँग प्रतिस्पर्धा गर्दै विश्वकपको सुरुवात गर्नेछ । विश्वकपको समूह ‘डी’ मा रहेको नेपालले समूह चरणको दोस्रो खेल जेठ ३० गते श्रीलङ्का, तेस्रो खेल असार १ गते दक्षिण अफ्रिका र चौथो खेल असार ३ गते बङ्गलादेशसँग खेल्दैछ।

२० टोलीको सहभागिता रहने विश्वकपमा सहभागी टोलीलाई चार समूहमा विभाजन गरिएको छ। समूहका शीर्ष दुई टोली सुपर आठमा प्रवेश गर्नेछन्।

नेपालले १० वर्षपछि टी-२० विश्वकप खेल्न लागेको हो। नेपालले बङ्गलादेशमा सन् २०१४ मा आयोजना भएको टी-२० विश्वकप खेलेको थियो।

 

प्रतिक्रिया