अबको १० दिनमा नेपालमा मनसुन भित्रिने


काठमाडौँ – नेपालमा अबको १० दिनमा मनसुन भित्रिने भएको छ । कोशी प्रदेशबाट अबको १०–१२ दिनभित्र मनसुन भित्रिने विज्ञहरूको अनुमान छ । मनसुनजन्य विपद्बाट बच्न पूर्व तयारीका लागि अब एक हप्ताको समय मात्रै रहेको भन्दै विज्ञहरूले सरकारले आवश्यक तयारी गर्नुपर्ने बताएका छन् ।

जलवायुविज्ञ डा. धर्मराज उप्रेतीले अबको १० दिनमा कोशी प्रदेशबाट मनसुन भित्रिने र विकसित हुँदै सुदूरपश्चिमसम्म पुग्दा १५ देखि २० दिनसम्मको समय लाग्ने बताए ।

उनले यो वर्ष अत्यधिक वर्षा हुने पूर्वानुमान रहेकाले तदनुसारका योजना बनाई तयारीमा जुट्न आग्रह गरे । उनले गृह मन्त्रालय, आपत्कालीन अवस्थामा खटिने सुरक्षानिकाय, स्वयंसेवक, रेडक्रसदेखि जल तथा मौसम विज्ञान विभाग र प्रदेश एवं स्थानीय सरकारले आजैबाट विपद्पूर्व तयारीका काम गर्न र तयारीमा जनशक्ति परिचालन गर्न आग्रह गरेका छन् ।

उप्रेतीले भने, ‘अबको १० दिनमा नेपालको कोशी प्रदेशबाट मनसुन भित्रिन्छ । त्यो विस्तारै सुदूरपश्चिमसम्म पुग्दा लगभग २ हप्ता जति लाग्न सक्छ । अबको हामीसँग समय भनेको तयारीको हिसाबले कोशी प्रदेश, मधेश प्रदेश र बागमती प्रदेशको हिसाबले १० दिन मात्रै छ। सुदूरपश्चिम प्रदेश, कर्णाली, लुम्बिनी प्रदेशको हकमा लगभग दुई हप्ताको समय छ ।’

यता विपद् पूर्व तयारीमा जुट्न नेपाल रेडक्रस सोसाइटीले ७७ वटै जिल्लाका निकायहरूलाई निर्देशन दिएको बताएको छ । मनसुनबाट हुनसक्ने सम्भावित जोखिम घटाउन नेपाल रेडक्रस सोसाइटीले पूर्व तयारीको काम थाल्न ७७ वटै जिल्लाका निकायलाई निर्देशन दिएको हो । नेपाल रेडक्रस सोसाइटीका कार्यकारी निर्देशक उमेश ढकालले वर्षभर हुनसक्ने विपद्लाई मध्यनजर गरेर योजना बनाइएको र मनसुनजन्य विपद्बाट हुनसक्ने क्षति घटाउन पूर्व तयारीमा जुटिसकेको बताए ।

उनले भने, ‘मनसुनको पूर्व तयारीको सन्दर्भमा विगतका वर्षहरुको अनुभव र यसपालि बढी पानी परेर त्यसको क्षति ठूलो हुनसक्छ भनेर पूर्व तयारीलाई त्यत्तिकै ध्यान दिएर काम गरेका छौँ ।’ उनले केही स्थानमा पूर्वसूचना प्रणालीका बारेमा पनि काम गरिरहेको जानकारी गराउँदै सबै निकाय र संघसंस्थाले घटना हुन नदिन आवश्यक पहल गर्न आग्रह गरे । उनले विपद्जन्य घटना मात्रै नभई अधिक गर्मी, स्वास्थ्यजन्य समस्यामा पनि सबैले आवश्यक चासो देखाउन जरुरी रहेको बताए ।

प्रतिक्रिया