अमेरिकाले भिसा ‘रिजेक्ट’ गरेपछि सन्दिपको वेस्टइन्डिज जाने सम्भावना कति ?


काठमाडौं–क्रिकेटर सन्दिप लामिछानेलाई नेपालमा रहेको अमेरिकी दुतावासले भिसा दिन अस्वीकार गरिसकेको छ । गत हप्ता भिसा अस्वीकार गरेको अमेरिकी दूतावासले हिजो(बिहीबार) अन्तरवार्तामा बोलाएर पुनः उनको भिसा रिजेक्ट गरिदियो ।
दोस्रो पटक समेत भिसा अस्वीकार भएपछि सन्दिपले टि–२० विश्वकप खेल्ने सम्भावना लगभग सकिएको छ ।

तर, वेस्टइन्डिजमा नेपालले खेल्ने दुई खेलमा उनको सहभागिता रहन्छ कि रहनैन भन्ने चर्चा यतिबेला चलिरहेको छ ।
नेपालले सुपर ८ मा पुग्न ४ खेल खेल्नुपर्नेछ । जसमध्ये जुन ४ मा अमेरिकाको डालासस्थित ग्राण्ड प्रेरी भ्यु क्रिकेट मैदानमा नेदरल्यान्ड्ससँग पहिलो खेल खेल्नेछ । दोस्रो खेल जुन ११ मा श्रीलङ्कासँग अमेरिकाको फ्लोरिडामा हुनेछ ।

त्यसपछि बाँकी दुई खेल खेल्न नेपाली टीम वेस्टइन्डिज जानेछ । नेपालले वेस्ट इन्डिजको भिन्सेन्टमा जुन १४ मा दक्षिण अफ्रिका र जुन १६ मा बङ्गलादेशसँग खेल्नेछ ।

अमेरिकाले आफ्नो देश आउन भिसा नदिएको अवस्थामा सन्दिप लामिछानेलाई नेपालले वेस्टइन्डिज पठाउने प्रयास गरिरहेको भने छ । नेपाल क्रिकेट संघ (क्यान)का एक सदस्यका अनुसार अमेरिकाले भिसा नदिएको अवस्थामा यूकेअन्तर्गतका देश ट्रान्जिट पर्ने गरेर उनीलाई पठाउने विषयमा छलफल चलिरहेको छ । अथवा अमेरिकाले आफ्नो देशमै ट्रान्जिट पर्ने गरेर उनीलाई जान दिन्छ कि दिदैन भनेर पनि बुझ्ने प्रयास भइरहेको उनले बताए ।

यस्तै अर्को सदस्यले अमेरिकाले भिसा नदिएको अवस्थामा यूकेको इङल्याण्ड भएर उनीलाई वेस्टइन्डिज पठाउने विषयमा पनि छनफल भएको बताए । तर, अमेरिकाले भिसा नदिएको अवस्थामा यूकेले पनि आफ्ना राष्ट्र भएर सन्दिपलाई जान नदिने सम्भावना रहेको उनले बताएका छन् ।

काठमाडौं जिल्ला अदालतबाट बलात्कार मुद्दामा दोषी ठहर भएका क्रिकेटर सन्दीपले उच्च अदालत, पाटनबाट सफाइ पाएका थिए । सफाइ पाएपछि क्यानले उनीमाथिको निलम्बन फुकुवा गरेसँगै सन्दीपलाई राष्ट्रिय क्रिकेट टोलीबाट खेल्ने बाटो खुलेको थियो ।

तर, अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) बाट सन्दीपको नाम नेपालको विश्वकप खेल्ने टोलीमा समावेश गर्न सकारात्मक जवाफ आएपनि अमेरिकाले भिसा नदिँदा उनी जान पाएका छैनन् ।

 

प्रतिक्रिया