ठेकेदार मनोज भेटवाल २ लाख धरौटीमा रिहा


काठमाडौं – काठमाडौं भ्यू टावर निर्माण गरिरहेका ठेकेदार मनोजकुमार भेटवाललाई विशेष अदालतले २ लाख रुपैयाँभन्दा कम धरौटीमा छाड्न आदेश दिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १३ करोड भन्दा बढी सार्वजनिक सम्पत्ति हिनामिना गरेको अभियोगमा विशेष अदालत काठमाडाैँमा मुद्धा दायर गरेको अभियुक्त भेटवाललाई विशेष अदालतका न्यायाधीशहरू प्रेमराज कार्की, बालेन्द्र रुपाखेती र चन्द्रबहादुर सारुको इजलासले जम्मा एक लाख ९० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो ।

आयोगले ठेकेदार भेटवालसहित १० जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो । फाइनान्स लिमिटेडको रकम हिनामिना प्रकरणमा पक्राउ परेका भेटवालसँगै बसन्त मल्ल, विकास श्रेष्ठ, मधुवनलाल श्रेष्ठ, भैरवप्रसाद भेटवाल र रविन लामा पनि धरौटीमा छुटेका छन् ।

४० करोड भन्दा बढी सम्पत्ति हिनामिना भएकोमा भेटवालसँग १३ करोड २६ लाख विगो माग दाबी गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनलाई १० वर्ष कैद सजायको समेत माग दाबी गरेर फागुन अन्तिम साता विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

 

प्रतिक्रिया