फेसबुक निर्देशनकै भरमा कुनै व्यक्तिलाई सडकमा उभ्याउनु जायज छैनः खतिवडा


काठमाडौं — राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले गृहमन्त्रीको फेसबुक स्टाटसमार्फत् दिएको निर्देशनका आधारमा कुनै व्यक्तिलाई सडकमा उभ्याउनु नमिल्ने जनाए । कुनै पनि व्यक्तिलाई मापसे गर्‍यो भनेर सडकमा ठिंग्याएर राख्नु मान्छेको वैयक्तिक अधिकारमाथिको भएको टिप्पणी गर्दै खतिवडाले कानूनी राज्य कसैको सनकका भरमा नचल्ने बताए।

उनले भने, ‘हामीले संविधान निर्माण गर्‍यौँ। सबै जात, धर्म र वर्गको अधिकार पनि स्थापित गरेका छौँ। कानुनी राज्यको परिकल्पना पनि गरेका छौँ। कानुनी राज्य भनेको कसैको सनकका भरमा जतिखेर जे पायो त्यही निर्णय गर्ने होइन।’

अहिले सडकमा केही मान्छेहरूलाई कुनै मन्त्रीको निर्देशनमा कुनै उपप्रधानमन्त्रीको निर्देशनमा बिहानदेखि बेलुका ठिंग्याएर कानूनबिना राख्ने प्रवृत्ति गलत भएको बताए।

उनले भने, ‘मापसे गर्‍यो भनेर सडकमा ठिंग्याएर राख्नु मान्छेको वैयक्तिक अधिकारमाथिको हनन हो। यो बारेमा छलफल अगाडि बढाउनुपर्ने जरुरी हामीले देखेका छौँ। अहिले कानूनी राज्य भनेको राणा शासन होइन। फेसबुकबाट निर्देशन दिने अनि कानून विपरीत नागरिकलाई सडकमा उभ्याउने काम गलत छ। यो पद्धतिविरुद्ध हामीले आवाज उठाउनुपर्नेछ। हामी यसबारेमा बैठक राख्छौँ।’

गृहमन्त्री लामिछानेले गणतन्त्र दिवसका दिन फेसबुक स्टाटसमार्फत् दिएको निर्देशनमा मापसे गरेका र सडक नियम मिचेकाहरूलाई कारबाही स्वरूप ट्राफिक स्वयमसेवकका रूपमा परिचालन गर्न निर्देशन दिएका थिए। उनले महिला ट्राफिक प्रहरीले महिनावारीको समयमा ४ दिनसम्म सडकमा ड्युटी गर्न नपर्ने, उनीहरूको स्थानमा ट्राफिक कारबाहीमा परेका व्यक्तिहरूले काम गर्ने जनाएका थिए ।

 

प्रतिक्रिया