बङ्गलादेशमा छात्रवृत्तिमा नाम काटिएका विद्यार्थीले पढ्न पाउँछन् : मन्त्री श्रेष्ठ


काठमाडौँ – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले बङ्गलादेशमा छात्रवृत्तिमा एमबीबीएस र बीडीएस अध्ययनको लागि सरकारले सिफारिस गरेका विद्यार्थीहरूले पढ्न पाउने अवस्था बनेको बताए ।

प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा शिक्षामन्त्री श्रेष्ठले एमबीबीएस र बीडीएस पढ्न बङ्गलादेशमा सिफारिस गरिएका विद्यार्थीहरूमध्ये केहीको नाम काटिएर आएको समस्याको समाधान भएको जानकारी दिएकी हुन् ।

बङ्गलादेशले दिने २२ जनाको कोटामा सरकारले सिफारिस गरेकोमध्ये १२ जनामात्रै विद्यार्थी छानिएको भनी बङ्गलादेश सरकारले नतिजा प्रकाशित गरेको थियो । त्यसमध्ये १० जनाको नाम नतिजामा नआएपछि सम्बन्धित विद्यार्थी, संसदीय समिति तथा सरकारको सरोकारवाला निकायले चासो देखाएका थिए । यस सम्बन्धमा जानकारी दिँदै मन्त्री श्रेष्ठले बाँकी रहेका १० जनामध्येका ८ जनाले पढ्न पाउने भएको जानकारी गराइन् । २ जनाले भने बङ्गलादेशमा आवेदन भरेको नदेखिएकाले पढ्न नपाउने उनको भनाइ थियो ।

मन्त्री श्रेष्ठले एमबीबीएस दोस्रो सेमेस्टरमा ब्यारियरमा परेका विद्यार्थीहरूको सम्बन्धमा आफूले उपकुलपतिसँग कुरा गर्ने र तत्पश्चात् केही निर्णय गर्न सकिने बताइन् ।

प्रतिक्रिया