

चितवन दुर्घटना : मृतकको संख्या २ पुग्यो

काठमाडौं- चितवनको भरतपुर महानगरपालिका–२९ स्थित नारायणगढ मुग्लिन सडक खण्डको १७ किलोमा दुर्घटना हुँदा घाइते भएका थप एक जना मृत्यु भएको छ ।
ना ३ ख ७९१५ नं. को ट्रकका सहचालक सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका राम्चेका २१ वर्षीय राजन सुवेदीको उपचारका क्रममा चितवन मेडिकल कलेजको भरतपुरमा रहेको शिक्षण अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
योसँगै दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या २ पुगेको छ । यसअघि अन्दाजी १६/१७ वर्षका किशोरको नयाँ मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनको पहिचान खुलेको छैन ।
गएराति भएको सो दुर्घटनामा २२ जना घाइते भएका छन् । काठमाडौंबाट प्युठानतर्फ आउँदै गरेको बा ४ ख ९०८६ नं को बस, नारायणगढदेखि मुग्लिनतर्फ जाँदै गरेको ना ३ ख ७९१५ नं को ट्रक, काठमाडौंबाट महोत्तरी बर्दिवासतर्फ आउँदै गरेको ना ७ ख ३२४८ नं को बस र वीरगंञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको ना ६ ख ८९६८ नं को बस एकै ठाउँमा ठक्कर खाँदा सो दुर्घटना भएको हो ।
दुर्घटनामा चार वटै सवारी साधनका चालकसहित २२ जना घाइते भएको र उनीहरुको परिचय नखुलेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
घाइते मध्ये १८ जनाको इच्छाकामना आधारभुत अस्पताल कुरिन्टारमा र चारजनाको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ।

