स्तरोन्नतिका लागि धुलिखेल–खावा खण्ड दिउँसो बन्द


धुलिखेल- अरनिका राजमार्गअन्तर्गत धुलिखेल–खावा खण्ड दुई दिनका लागि दिउँसोको समयमा बन्द गरिएको छ ।

सडक स्तरोन्नति जारी रहेकाले शनिबार र भोलि दिउँसो उक्त खण्डमा आवागमन बन्द गरिएको हो । सडक डिभिजन कार्यालय भक्तपुरले शुक्रबार सूचना जारी गर्दै उक्त खण्ड भएर यात्रा गर्ने यात्रु र सवारीसाधनलाई वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरेको छ ।

सङ्घीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय काठमाडौँ, सडक डिभिजन भक्तपुरले सार्वजनिक सूचना जारी गर्दै अरनिको राजमार्ग (धुलिखेल–जिरोकिलो–खावा खण्ड) शनिबारदेखि दुई दिन दिउँसोको समयमा बन्द रहने जनाएको हो ।

राजमार्गको धुलिखेल जिरोकिलो–खावा खण्डमा थप मर्मत तथा विस्तार गर्नका लागि जिल्ला समन्वय समिति, सरोकार भएका निकाय तथा स्थानीयकाबीच यही जेठ ७ गते उक्त खण्ड दुई दिनसम्म बन्द गर्ने निर्णय भएसँगै शनिबार र भोलि बन्द गरी स्तरोन्नति थालिएको सडक डिभिजन कार्यालय भक्तपुरका सूचना अधिकारी तथा इञ्जिनियर सुमन बस्नेतले जानकारी दिए ।

बैठकको निर्णयअनुसार शनिबार बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म र भोलि बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म दमकल, एम्बुलेन्स, शववाहन र सुरक्षा निकायका सवारीसाधनबाहेक सबै किसिमका यातायात सञ्चालन पूर्णरुपमा बन्द रहने उनले जानकारी दिए ।

बैठकको निर्णयअनुसार शनिबार बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म र भोलि बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म दमकल, एम्बुलेन्स, शववाहन र सुरक्षा निकायका सवारीसाधनबाहेक सबै किसिमका यातायात सञ्चालन पूर्णरुपमा बन्द रहने उनले जानकारी दिए ।

बन्द अवधिभर वैकल्पिक मार्ग प्रयोग गरी निर्माण कार्यलाई सहयोग गरिदिन सडक डिभिजन कार्यालयले आग्रह गरेको छ । सो समय अवधिमा काठमाडौँ–बनेपा हुँदै पाँचखालतर्फ जाने सवारीसाधनका लागि होराइजन होटल हुँदै आगन्तुक होटल–रविओपी हुँदै पाँचखालको बाटो प्रयोग गर्न आग्रह सूचना अधिकारी बस्नेतको भनाइ छ ।

उनका अनुसार साना सवारीसाधनका लागि बनेपा चारदोबाटो–रविओपी हुँदै पाँचखालको बाटोलाई वैकल्पिक मार्गका रुपमा व्यवस्था गरिएको छ ।

साना सवारीसाधनका लागि बिपी राजमार्ग–तिनपिप्ले–पाँचखालको बाटो वैकल्पिक मार्गका रुपमा प्रयोग गर्न र दोलालघाट पाँचखाल हुँदै काठमाडौँतर्फ जाने सबैखाले सवारीसाधनका लागि जिरोकिलो–कुन्ताबेंसी नगरकोट सडक प्रयोग गर्न आग्रह गरिएको बस्नेतले बताए ।

 

प्रतिक्रिया