अस्ट्रेलियाको पिआरवालालाई नलगाड हाइड्रोको सिइओ बनाइएको भन्दै अख्तियारमा उजुरी


काठमाडौं – नलगाड हाइड्रोपावर कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सिईओ) प्रकाशबहादुर शाहीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयेगमा उजुरी परेको छ ।

उर्जा मन्त्रालय अन्तर्गतकै नलगाड हाइड्रोपावर कम्पनीको सिईओमा नियुक्त भएका शाहीसँग अस्ट्रेलियाको स्थायी बसोवास अनुमति अथवा परमानेन्ट रेसिडेन्सी (पीआर) रहेको भन्दै उजुरी परेको हो । जाजरकोटका स्थायी बासिन्दा शाहीसँग अस्ट्रेलियाको स्थायी बसोवास अनुमति अथवा परमानेन्ट रेसिडेन्सी (पीआर) रहेको भन्दै उनीविरुद्ध अख्तियारमा उजुरी परेको हो ।

त्यसका साथै सीईओका लागि कम्पनीले माग गरेअनुसारको योग्यता र उनको योग्यता पनि मेल नखाएको हुनसक्ने भन्दै छानबिनको मागसमेत गरिएको छ ।  विशेष गरी रेडियो दूरसंचार प्रणाली, पावर प्रणाली, र मेट्रो टनेल रेल प्रणालीका लागि अनुभवी मानिएका शाही कम्पनीले माग गरेअनुसारको जलविद्युत क्षेत्रमा अनुभव नभएको समेत दाबी गरिएको छ ।

कम्पनीले पदपूर्तिका लागि गत फागुन १४ मा आवेदन माग गरेको थियो । सीईओका लागि लिखित परिक्षामा ६ जना सहभागी भएको बताइएको छ । अन्तर्वार्ता र प्रस्तुतीकरणपछि शाहीलाई नियुक्त गरिएको थियो । कम्पनीद्वारा गठित सिईओ छनोट गर्न गठित उपसमितिले कम्पनीको १२५ औं बैठकबाट शाहीलाई वैशाख ३१ गते सीईओमा नियुक्त गरेको थियो । नियुक्तिपछि अहिले उनले कार्यभार सम्हालिसकेका छन् ।

विदेशी पीआर भएको व्यक्ति सार्वजनिक पदमा बस्न नमिल्ने भन्दै शाहीविरुद्ध उजुरी परेको हो ।

विद्युत् उत्पादन कम्पनी लिमिटेडको ७५ प्रतिशत, सर्वसाधारणको १३ प्रतिशत, आयोजना प्रभावित क्षेत्रका जनताको १२ प्रतिशत र कम सुविधा प्राप्त व्यक्तिहरुको २ प्रतिशत शेयर रहेको नलगाड कम्पनीले जाजरकोटको नलगाडमा ४१७ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण गर्दैछ ।

प्रतिक्रिया