

अक्सफोर्ड-एस्ट्राजेनेकाको खोप प्रयोगमा तत्कालका लागि नेदरल्याण्डसले लगायो रोक

नेदरल्याण्डस – सम्भावित ‘साइड इफेक्ट’ लाई मध्यनजर गरि नेदरल्याण्डसले कोरोना भाइरसविरुद्धको अक्सफोर्ड–एस्ट्राजेनेकाको खोप लगाउन तत्कालका लागि बन्द गरेको छ ।
कम्तीमा मार्च २९ सम्मका लागि अक्सफोर्ड–एस्ट्राजेनेकाको खोप लगाउन बन्द गरिएको डच सरकारले बताएको बिबिसीले उल्लेख गरेको छ ।
नर्वेमा खोप लगाएका वयस्कमा ब्लड कल्ट बनेको भन्ने खबर आएपछि यसअघि रिपब्लिक अफ आयरल्याण्डले पनि अक्सफोर्ड–एस्ट्राजेनेकाको खोपको प्रयोग तत्कालका लागि बन्द गरेको थियो ।
तर विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले भने सो खोप र ब्लड कल्टबिच कुनै सम्बन्ध नरहेको बताएको छ । युरोपियन मेडिसिन एजेन्सी (इएमए) ले खोप र ब्लड कल्ट सम्बन्धमा अहिले अनुसन्धान गरिरहेको छ ।
यसअघि डेनमार्क, नर्वे, बुल्गेरिया, आइसल्याण्ड र थाइल्याण्डले पनि अक्सफोर्ड–एस्ट्राजेनेकाको खोप लगाउन तत्कालका लागि बन्द गरेका थिए ।
डेमार्क र नर्वेबाट आएका खबरलाई मध्यनजर गरि सम्भावित गम्भीर ‘साइड–इफेक्ट’ लाई ध्यानमा राखेर तत्कालका लागि खोपको प्रयोग रोकिएको डच सरकारले जनाएको छ ।
खोपका सम्बन्धमा रहेको शंका दूर भएपछि मात्रै अघि बढ्ने डच स्वास्थ्य मन्त्री हुगो डी जोङ्गेले बताएका छन् ।
सबै ठीक रहेको भनेर ढुक्क हुनका लागि तत्काल खोपको प्रयोग रोकिएको उनले बताए । आइतबार भएको यो निर्णयसँगै नेदरल्याण्डसको खोप अभियान प्रभावित भएको छ ।

