म्यानमारमा एकैदिन प्रहरीको गोली लागेर ३८ प्रदर्शनकारीको मृत्यु, चिनियाँ लगानीमा संञ्चालीत उद्योगमा आगजनी


काठमाडौँ – आइतबार म्यानमारमा प्रहरीले चलाएको गोली लागेर कम्तिमा ३८ जना प्रदर्शनकारीको मृत्यु भएको छ । म्यानमारमा सेनाले कू गरेपछि आइतबार एकैदिन सबैभन्दा धेरै प्रदर्शनकारीको मृत्यु भएको हो ।

म्यानमार आइतबार प्रदर्शनकारीले चिनियाँ लगानीका संञ्चालीत उद्योगमा आगजनी समेत गरेको समाचार संस्था रोयटर्सले जनाएको छ।

औद्योगिक क्षेत्रबाट आगोको मुस्लो निस्किएपछि सुरक्षाकर्मीले प्रदर्शनकारीमाथि गोली हान्न थालेका थिए। सेनाद्वारा सञ्चालित टेलिभिजनले चार वटा गार्मेन्ट उद्योग र एउटा मल बनाउने कारखानामा आगजनी भएपछि सुरक्षाकर्मीले कारबाही गरेको जनाएको छ।

अन्य ठाउँका प्रदर्शनमा आइतबार थप १६ जना प्रदर्शनकारी पनि मारिएको एसिस्टेन्स एसोसियसन फर पोलिटिकल प्रिजनर्स संस्थाले जनाएको छ। एक जना प्रहरीको मृत्यु भएको छ ।

‘यो अत्यासलाग्दो थियो। मेरै आँखाअगाडि मानिसहरूलाई गोली हानियो। यो कुरा म कहिल्यै भुल्न सक्ने छैन,’ एक जना फोटो पत्रकारले भने।

लाइङथाया र आसपासका क्षेत्रमा अहिले मार्सल ल लागू गरिएको छ। म्यानमारमा सैनिक कूविरूद्धको आन्दोलनमा अहिलेसम्म १२६ जनाको मृत्यु भइसकेको छ भने २ हजार १ सय ५० जनालाई पक्राउ गरिएको छ।

घटनामा उद्योगमा रहेका केही चिनियाँ नागरिक पनि घाइते भएको म्यानमारस्थित चिनियाँ राजदूतावासले जनाएको छ। चिनियाँ दूतावासले आइतबारको घटनापछि परिस्थिति निकै नाजुक भएको बताएको छ ।

‘म्यानमारले हिंसात्मक गतिविधि रोक्नका लागि प्रभावकारी कदम चाल्न, दोषीलाई कानुनअनुसार दण्डित गर्न र म्यानमार रहेका चिनियाँ नागरिक र सम्पत्तिको सुरक्षा गर्न चीन आग्रह गर्दछ,’ दूतावासको विज्ञप्तिमा भनिएको छ।

चिनियाँ लगानीका उद्योगमा भएको आगजनीको कुनै समूहले जिम्मा लिएको छैन। फेब्रअरी १ को कूपछि पश्चिमा मुलुकले जसरी बेइजिङले कूको विरोध नगरेपछि म्यानमारमा चीनविरोधी भावना बढेको छ। चिनियाँ कम्पनीहरूले म्यानमारका विभिन्न क्षेत्रमा ठूलो लगानी गरेका छन्।

‘तिमी म्यानमारमा शान्तिसँग व्यापार गर्न चाहन्छौ भने म्यानमारका जनतालाई सम्मान गर,’ एक जना प्रदर्शनकारीले फेसुबकमा लेखेकी छन्। एजेन्सी

प्रतिक्रिया