

दुहवी र इटहरीका आगलागीपीडित १२ घरपरिवारलाई राहत वितरण

काठमाडौं- सुनसरीको दुहवी नगरपालिका–९, छाताबेलीका ११ घरपरिवार आगलागीपीडितलाई राहत वितरण गरिएको छ ।महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले एक कार्यक्रमबीच आगलागीपीडित परिवारको घरमै पुगेर उक्त राहत हस्तान्तरण गरेकी हुन् ।
त्यसैगरी इटहरी नगरपालिका–७, रामजानकी टोल सिसौना निवासी आगलागीपीडित इन्द्रकुमार खड्काको घरमै गएर राहत सामग्री वितरण गरिएको छ ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, समाज कल्याण परिषद्ले स्वास्थ्य पोषण शिक्षा तथा कृषि अनुसन्धान विकास केन्द्र, दिनेश चौधरी स्मृति प्रतिष्ठान र लेटर डे सेन्ट च्यारिटिजसँगको समन्वयमा उक्त राहत हस्तान्तरण गरिएको हो ।
प्रतिपरिवारका दरले २५ किलो चामल, पाँच किलो दाल, तीन किलो नुन, दुई सेट ब्ल्यांकेट, एक सेट स्ट्यान्ड फ्यान, स्टेशनरी एक सेट, एक बन्डल जस्तापाता, एक सेट डिग्निटी किट, एक सेट झुल, किचनका सामग्री र सडना सेट वितरण गरिएको छ ।
यसैगरी इटहरी नगरपालिका–७, रामजानकी टोल सिसौना निवासी आगलागीपिडित इन्द्रकुमार खड्काको घरमै पुगेर मन्त्री चौधरीले राहत सामग्री हस्तान्तरण गरेकी छन् ।
खड्काको परिवारलाई सहयोग स्वरूप १२ वटा सिमेन्टको पिलर, १० बोरा सिमेन्ट, तीन ट्याक्टर बालुवा/गिट्टी लगायतका सामग्री सहयोग गरिएको हो । गत वैशाख २१ गते विद्युत् सर्ट भएर खड्काको घरमा आगलागी हुँदा करिब ११ लाख रुपैयाँ बराबरको क्षति भएको थियो ।

