‘फास्ट ट्रयाक ‘अन्तर्गत लेनडाँडा सुरुङमार्गको ‘ब्रेक थ्रु’


काठमाडौं – नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधीन राष्ट्रिय गौरवको काठमाडौँ-तराई/मधेस द्रुतमार्ग सडक आयोजनाको मकवानपुरको बकैया र गढी गाउँपालिकामा निर्माणाधीन लेनडाँडा सुरुङमार्गको जोडी सुरुङ मध्ये १,६३३ मिटर लम्बाइ रहेको काठमाडौँबाट निजगढतर्फ जाने सुरुङमार्गको ब्रेक थ्रु भएको  छ ।

द्रुतमार्गको निर्माणाधीन सुरुङमार्गहरु मध्ये निकट भविष्यमा दुवै तर्फको सुरुङमार्गको एक विशेष कार्यक्रमसहित ब्रेक थ्रु गर्ने योजना रहेको नेपाली सेनाले जानकारी दिएको छ ।

त्यस्तै असारभित्र धेद्रे सुरुङ छिचोल्ने तयारी रहेको सैनिक प्रवक्ता एवं सहायक रथी गौरवकुमार केसीले बताए।

उनका अनुसार धेद्रे सुरुङ १ हजार ६३० मिटरमध्ये १ हजार ५०६ मिटर खनी सकिएको छ। अब १ सय २४ मिटर मात्र खन्न बाँकी छ ।

त्यस्तै,महादेवटार सुरुङको ३ हजार ३५५ मिटर मध्ये २ हजार १५८ मिटर खनीसकिएको छ। सबैभन्दा लामो रहेको यो सुरुङ अब १ हजार १९७ मिटर मात्र खन्न बाँकी छ। २ हजार २५० मिटरको चन्द्राम भिर, १ हजार मिटरको देविचौर र ३ सय ९० मिटर दूरीको सिसौटार सुरुङ डिजाइनको क्रममा रहेको सैनिक प्रवक्ता केसीले बताए । यसको निर्माण व्यवस्थापनको जिम्मा मन्त्रिपरिषद् निर्णयले ०७४ वैशाख २१ मा सेनालाई दिएको हो।

जसअनुसार ०८१ मंसिर भित्र निर्माणको काम सक्किनुपर्ने थियो। तर उक्त अवधीमा निर्माण नसकिने भएपछि ०८३ चैतसम्म म्याद थप गरिएको छ । ७०.९७७ किमिमध्ये ६४.४७७ किलोमिटरमा ठेक्का व्यवस्थापन भएको छ। खोकना खण्डको जग्गा विवाद भने अझै टुंगिएको छैन। जसले गर्दा यो खण्डको ६.५ किमी क्षेत्रमा ठेक्का व्यवस्थापनको काम हुन सकेको छैन। यो खण्डलाई अन्तिम ११ नम्बर प्याकेजमा राखिएको छ। अहिलेसम्म समग्र आयोजनाको भौतिक प्रगति ३३.९९ प्रतिशत छ ।

 

प्रतिक्रिया